नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको सहआयोजना तथा बुटवल नगरपालिका, तिलोत्तमा नगरपालिकाको सहकार्यमा शनिवार (२०८१ फागुन १० गते) बाट रुपन्देही उद्योग सङ्घ, बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ । प्रदर्शनीको प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले उद्घाटन गर्नुभयो । उहाँले समृद्ध लुम्बिनीमा पुस्तान्तरणको अभावमा ललितकलाको विकास हुन नसकेको बताउँदै प्रदेशमा रहेका सिप र लोक ज्ञानहरू ओझेलमा परेको बताउनुभयो । ‘हरेक क्षेत्रमा अब्बल रहेको लुम्बिनी प्रदेश कला संस्कृतिका क्षेत्रमा पनि समृद्ध रहेको छ’, आचार्यले भन्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लुम्बिनीको समग्र ललितकलाका विकासमा सङ्घबाट पहल भइरहेको र यसको थप विकास तथा प्रवर्धनमा प्रदेश सरकार र पालिकाको भूमिका महत्त्वपूर्ण हुनुपर्ने बताउनुभयो ।
बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रादेशिक ललितकला प्रदर्शनीका लागि बुटवल नगर रोजेकामा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै कला, संस्कृतिका विकासमा पालिकाले आवश्यक भूमिका खेल्ने बताउनुभयो ।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले यस प्रदर्शनीमा प्रदेशका १२ वटै जिल्लाका कलाकारहरूले सहभागिता जनाएको र प्रदर्शनीमा १२३ कलाकारका १८० कलाकृति राखिएको जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानले काठमाडौँ केन्द्रित ललितकलाका गतिविधिलाई विकेन्द्रित गरेको बताउँदै मौलिकताको जगेर्ना, रोजगारीको सिर्जना र देशको अर्थतन्त्रमा समेत योगदान दिन तथा देशका सबै ललितकलाकर्मीलाई प्रेरित र प्रवर्धन गर्न यस्ता प्रदर्शनीले थप सहयोग पुग्ने बताउनुभयो । प्रदर्शनी फागुन १४ गतेसम्म चल्ने छ ।