नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति, सदस्य सचिव तथा प्राज्ञपरिषद् सदस्यहरूसँगको भेटमा मङ्गलवार (२०८१ पुस ९ गते) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा ललितकलाको प्रवर्धन, विकासका साथै अनुसन्धानका काम गर्न प्रदेश सरकार प्रतिष्ठानसँग सहकार्य तयार रहेको बताउनुभएको छ । उक्त भेटमा मुख्यमन्त्री आचार्यले ललितकलासँगै प्रदेशका कला, संस्कृति, रैथाने ज्ञान, सिप, विज्ञान तथा सम्पादहरूको संरक्षण गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘हामी प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनका लागि विधेयक अघि बढाउँछौँ । यस प्रदेशभित्रका कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’ प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदेशको ललितकलाको इतिहास, अवस्थासँगै त्यसका विविध पक्षको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीलाई अनुरोध गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशमा ललितकलाको सम्भावना प्रबल रहेको बताउँदै यसलाई थप उजागर गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको अग्रसरतामा प्रदेशको दाङस्थित गढवा गाउँपालिकालाई सेरामिक्स हब बनाउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिँदै सो क्षेत्र देशकै सेरामिक्स हब बन्दा त्यहाँका माटोबाट बनेका सेरामिक्सका विविध सामाग्री विश्वबजारमा पुग्ने र देशको पर्यटन, अर्थतन्त्र तथा रोजगारीका क्षेत्रमा समेत योगदान पुग्ने चर्चा गर्नुभयो । उहाँले प्रतिष्ठानले अघिल्लो वर्षदेखि सुरु गरेको प्रादेशिक ललितकला प्रदर्शनीसँगै काठमाडौँ ट्रिएनाले २०२६ का बारेमा पनि जानकारी गराउनुभएको थियो । उक्त भेटमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतोलगायतको सहभागिता रहेको थियो ।