नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको सहआयोजना तथा बुटवल नगरपालिका, तिलोत्तमा नगरपालिकाको सहकार्यमा रुपन्देही उद्योग सङ्घ, बुटवलमा फागुन १० गतेबाट सुरु भएको ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ को सन्दर्भ पारेर मङ्गलवार (२०८१ फागुन १३ गते) ‘लुम्बिनीमा ललितकला’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय सभामुख तुलाराम घर्ती मगरले कला र सभ्यताको महत्त्वलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले लुम्बिनी र ललितकलाको समग्र विषयमा पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत प्रस्तुति दिनुभयो । मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले हामीले हाम्रो सम्पदा र संस्कृतिलाई बिर्सन नहुने बताउनुभयो । समारोहमा प्रदेशका सामाजिक विकास समिति सभापति माननीय यमबहादुर नेपाली सार्की, नेकपा एमालेका नेता बाबुराम भट्टराई, नेकपाका शरद वली, नेकपा माओवादीका सुदर्शन बराल, रामग्राम नगरपालिका प्रमुख धनपत यादवसँगै, कलाकार, बुद्धिजीवी, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।