ललितकलामार्फत पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा आइतबार (२०८१ फागुन १८ गते)आयोजना गरिएको ‘लिम्चुङबुङ कला संवाद’ कार्यक्रम गाउँपालिकाका अध्यक्ष मेजर राईको अध्यक्षता र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा र प्राज्ञपरिषद् सदस्य प्रमुख दिनेश्वर महतो, गाउँपालिकाका जनप्रतिनिधि, टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि, प्रधानाध्यापक, सरोकारी व्यक्तित्व, स्थानीय जनसमुदायको सहभागिता रहेको थियो । उक्त संवादमा उहाँहरूले गाउँपालिकामा कला पर्यटन, रैथाने कला, सिप र ज्ञानको जगेर्ना, प्रचार–प्रसार र प्रवर्धन तथा ललितकलाको क्षेत्रमा गर्न सकिने कार्य तथा सहकार्य बारेमा विस्तृतमा चर्चा गर्नुभएको थियो ।