राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आइतबार (२०८२ जेठ २५ गते) ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को भ्रमण गर्नुभयो । उहाँले सातै प्रदेशबाट ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’मार्फत छानिएका कलाकृति ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’मा देख्न पाएको बताउनुभयो । दाहालले भन्नुभयो, ‘पहिलो कुरा त नेपाल कलामा कति धनी छ भन्ने कुराको यो एउटा प्रमाण हो । नेपाल पूरै घुम्नु परेन । सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ भन्ने मलाई अनुभूत भएको छ । यो कला, संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने देशले अर्को एउटा महत्त्वपूर्ण फड्को मार्न सक्छ । कलाको प्रचार, कलाको विकास, पर्यटनको विकास हुने, र नेपाललाई आम्दानी हुने, रोजगारीको सिर्जना हुने यी खालका सबै विषयवस्तुलाई ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्दछ । हाम्रो समस्या भनेको चाहिँ व्यवस्थापन हो । हामीसँग कला छ, संस्कृति छ । यसलाई व्यवस्थित तरिकाले प्रचार–प्रसार गर्ने कुरा यसमा हामीले काम ग¥यौँ भने हुन्छ । म धेरै खुसी छु । अघिल्लो वर्ष पनि आएको थिएँ । अघिल्लो वर्षभन्दा तुलनात्मक रुपले विकास भएको पाएँ । ललितकला हाम्रो धरोहर हो । यसलाई नेपाली जनताका बिचमा यसका महत्त्व र आवश्यकताका बारेमा बोध गराउने काम गर्नुस् । त्यसका निम्ति मैले गर्न सक्ने सक्दो सहयोग गर्छु ।’
प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला/मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।
जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।