नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ, सुर्खेतको सहकार्यमा प्रदेशस्तरीय ललितकला कार्यशाला शनिवार (२०८१ फागुन ३ गते) सम्पन्न भएको छ । उक्त कार्यशालामा १६ जना कलाकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाले कलाकारहरूले सुर्खेतको बुलबुले उद्यानमा बसेर बनाएका कलाकृतिहरूले त्यस प्रदेशका विविध पक्ष तथा आयामलाई समेट्ने बताउनुभयो । नेपाल कमर्सियल आर्टिस्ट सङ्घका केन्द्रीय उपाध्यक्ष सुवासकुमार शाक्यले यस्ता कार्यशालाले कलाकारहरूलाई थप प्रोत्साहन मिल्ने बताउनुभयो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य निरिमाया लामा, झिग्मे लामालगायतको उपस्थिति रहेको थियो ।
यस सिलसिलामा सुर्खेतको श्री जन नमुना माध्यामिक विद्यालयमा हुने कर्णाली फागुन ६ गतेदेखि १० गतेसम्म हुने कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ मा राउटेहरूका कलालाई समावेश गराउन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल कमर्सियल आर्टिस्ट सङ्घका सदस्यहरूले उहाँहरूको बस्तीमा पुगी छलफलसमेत गर्नुभएको थियो ।
