नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेबाट सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शुक्रवार(२०८१ जेठ ३२ गते) सम्पन्न भएको छ । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाका प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञसभा सदस्य राजबहादुर गुरुङको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपकुलपति लालकाजी लामाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले स्थापनाकालदेखि नै गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनीमा यसपटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरि त्यहाँबाट छानिएका उत्कृष्ट कलाकृतिहरूलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको बताउनुभयो । उहाँले समाज रूपान्तरणका लागि कलाकार स्वयं रुपान्तरण हुनपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रादेशिक ललितकला प्रदर्शनीमा हजारभन्दा बढी कलाकार जोडिएको र त्यसबाट छानिएका र अप्रतियोगी गरी ४८२ जना कलाकारका ५२२ कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको बताउनुभयो । उहाँले प्रदर्शनीलाई प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो । ‘प्रदर्शनीमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रशासनिक/आर्थिक/कूटनीतिक/शैक्षिक/कानुनी क्षेत्रका प्रतिनिधि, विभिन्न विद्यालय, सङ्घसंस्था, कलेजबाट उल्लेख्य सहभागिता रह्यो,’ उहाँले बताउनुभयो । यस प्रदर्शनीलाई ४० हजार भन्दा बढी कलाअनुरागीले गरेका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक रूपमा गरेको प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउँदै ‘गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८०’मा ललितकला प्रज्ञा–प्रतिष्ठानसँग ऐतिहासिक कार्यमा सहकार्य गर्न पाउँदा गण्डकी प्रज्ञा–प्रतिष्ठान हर्षित भएको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदर्शनीको पूर्वसन्ध्यामा आयोजित ‘ब्यानर लेखन प्रतियोगिता’मा प्रथम, द्वितीय र तृतीय हुनुहुने कलाकारहरू क्रमशः सुरेन्द्रकुमार चौधरी, सुरेन्द्रप्रसाद चौधरी र उमेश शाह तेलीलाई प्रमाण–पत्र र नगद रु क्रमशः १० हजार, ७ हजार र ५ हजारसहित सम्मान गरिएको थियो । त्यस्तै, ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’का स्वयंसवेकहरूलाई समेत प्रमाण–पत्र वितरण गरिएको थियो ।
