नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रवार (२०८२ वैशाख ०५ गते)‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ सम्पन्न भएको छ । कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली एवं प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुरप्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा कुलपति हार्तम्छालीले यस सम्मेलनबाट उठेका कुराले अगामी बाटो तय गर्ने हुनाले कलाकारहरूले सूक्ष्म ढङ्गले राखेका विचार तथा धारणा महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले कलाकारकै भावनालाई समेटेर आगामी रणनीति तय गरिने बताउनुभयो ।
प्रतिष्ठानका पूर्व उपकुलपति एवं अग्रज मूर्तिकार ठाकुरप्रसाद मैनालीले प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्र/संस्थासँग समन्वय गरी विभिन्न अन्तर्राष्ट्रिय कार्यशाला तथा कार्यक्रमहरू गरी कला र कलाकारलाई प्रवर्धन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालमा मूर्तिकलाको अवस्था विषयमा पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत विविध पक्षको चर्चा गर्नुभएको थियो । उहाँले यस क्षेत्रको संरक्षण, प्रवर्धन तथा विकासका लागि आगामी दिनमा स्थानीय/प्रदेश/सङ्घीय सरकार, प्रतिष्ठान, शैक्षिक संस्था, कलाकारले गर्नुपर्ने कार्य तथा पहल र कानुनी विषयमा विस्तृतमा व्याख्या गर्नुभएको थियो ।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले सम्मेलनले नेपालको मूर्तिकला क्षेत्रका नीतिगत र कलाकारका समस्या तथा यस क्षेत्रको प्रवर्धनका लागि प्रतिष्ठानले गर्ने अन्य विविध कार्यका बारेमा समेत निचोड निकाल्ने बताउनुभयो ।
सम्मेलनमा प्राज्ञ नरेन्द्र भण्डारी, प्राज्ञ प्रदीप शाक्य, प्राज्ञ भुवन थापा, प्राज्ञ तारा ओझा, अग्रज मूर्तिकार शान्तकुमार शाक्य, कलाकार राकेश शाक्य, आरम्भ समूहका अध्यक्ष कलाकार सुदर्शन विक्रम राणा, आरम्भ समूहका सचिव इन्द्र खत्री, कलाकार पूर्णकाजी शााक्य, कलाकार विष्णु श्रेष्ठ,कलाकार माधव पौडेल, सुनिता राणा, कलाकार लक्ष्मण भुजेलसँगै मूर्तिकला क्षेत्रलाई प्रतिनिधित्व गर्ने सातै प्रदेशका कलाकार प्रतिनिधिसहित ८० भन्दा बढी कलाकारहरूको उपस्थिति रहेको थियो । १५ बुँदे घोषणा–पत्र पारित गर्दै ‘राष्ट्रिय मूर्तिकला सम्मेलन’ सम्पन्न भएको थियो ।
१५ बुँदे घोषणा–पत्र

राष्ट्रिय मूर्तिकला सम्मेलन– २०८२ घोषणा–पत्र
मिति २०८२/१/५
१. सरकारी निकायबाट सिर्जना गरिने मूर्तिकलाको सम्बन्धमा विद्यमान सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम बोलपत्र आह्वान गर्दा मूर्तिकारहरूले भन्दा निर्माण व्यवसायीले काम पाउने अवस्था हुने र निर्माण व्यवसायीले निर्माण गरेका मूर्ति सिर्जनाका दृष्टिले गुणस्तरीय र कलाको मर्मअनुरूप नहुने हुँदा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनमा सुधार गरी त्यस्ता मूर्ति वा कला सिर्जना गर्न बोलपत्र आह्वानसम्बन्धी छुट्टै कानुनी प्रावधानको व्यवस्था गर्न पहल गर्ने ।
२. मूर्ति सिर्जना गर्दा चाहिने आवश्यक कच्चा पदार्थको उपलब्धतालाई सहजीकरण गर्न कच्चापदार्थको आयातमा भन्सार र अन्य कर छुट हुने कानुनी व्यवस्थाका साथै स्थानीय कच्चा पदार्थको सहज उपलब्धता र स्थानीय कच्चापदार्थ सङ्कलन र ढुवानीमा कुनै कर दस्तुर नलाग्ने कानुनी व्यवस्था हुनुपर्ने ।
३. मूर्तिकला सिर्जना गर्दा आधुनिक प्रविधिमैत्री तथा वातावरणमैत्री बनाउन आवश्यक सामग्री आयात गरी व्यवस्थापन गर्न र मूर्तिकलाको सिर्जना गर्नसमेत सरकारी स्तरबाट उपयुक्त स्थान उपलब्ध गराउने व्यवस्थाका लागि पहल गर्ने ।
४. आजकल छिटो पैसा कमाउने मनसायले व्यापारी प्रयोजनका लागि शास्त्रीय विधान र कलाको सिर्जनशीलता र मर्म नै मर्ने गरी जथाभावी रूपमा मूर्ति सिर्जना गर्ने कार्य भइरहेको अवस्था हुँदा मूर्ति सिर्जना गर्दा शास्त्रीय विधान र कलाको मर्म विपरीत नहुने गरी सिर्जना गर्न आवश्यक पहल गर्ने ।
५. मूर्तिकला निर्माण, प्रदर्शनी र त्यसको प्रवर्धन गर्न मूर्तिकला ग्राम तुरुन्त बनाउन पहल गर्ने ।
६. देशका लागि विदेशी मुद्रा भित्र्याउने स्रोतमध्ये महŒवपूर्ण स्रोतका रूपमा रहेको नेपाली ललितकला निर्यात गर्दा लाग्ने भन्सार र कर छुट हुने व्यवस्थाका साथै निर्यात गर्दा हुने प्रशासनिक झन्झट निराकरण गरी सहज हुने व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।
७. सरकारी स्तरबाट मूर्तिकलाको मूल्याङ्कन गर्दा भौतिक साधनको मात्र मूल्याङ्कन नगरी कला सिर्जनाको मूल्यका आधारमा गरिने व्यवस्था हुनुपर्ने ।
८. मूर्तिकारको स्वास्थ्य बिमा र मूर्तिकार स्वास्थ्य कोष स्थापनाका लागि आवश्यक पहल गर्ने ।
९. मूर्तिकलाको प्रतिलिपि अधिकारको सुनिश्चितता गर्न पहल गर्ने ।
१०. विद्यालय स्तरको पाठ्यक्रममा मूर्तिकला समावेश गर्न, मूर्तिकला विषयलाई विभिन्न विश्वविद्यालका पाठ्यक्रममा समावेश गर्न र सबै विश्वविद्यालयमा मूर्तिकला विषयसहितको ललितकला विभाग खोल्न तथा विशेष गरी मूर्तिकला विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गर्न आवश्यक पहल गर्ने ।
११. समूहगत रुपमा मूर्ति बनाउँदा कार्य विभाजनका आधारमा पहिचान उल्लेख गरी मूर्तिकारको आत्मसम्मानको कदर गर्ने ।
१२. मूर्तिकलाको अध्ययन, अनुसन्धान, मूर्तिकला र कलाकारको अभिलेखीकरणका साथै प्रदर्शनी, कार्यशाला, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कला र कलाकारको पहुँच अभिवृद्धि गर्न पहल गर्ने ।
१३. हाल बनेका सरकारी भवनहरूमा नेपाली कलाकृति/ मूर्तिकलासमेत राख्ने व्यवस्थाका लागि सरकारले बजेटको व्यवस्था गर्ने, अब बन्ने सरकारी भवनमा भवन निर्माणको इस्टमेट गर्दा नै बजेटको निश्चित प्रतिशत रकम ललितकलाबाट सजावट गर्नका लागि तोक्ने नीतिगत व्यवस्था गर्ने र आगामी दिनमा सर्वसाधरणले बनाउने घरको नक्सा स्वीकृत गर्दाकै अवस्थामा भवनको निश्चित स्थानमा ललितकलाले सजावट गर्नुपर्ने प्रावधान राखी नक्सा पास गर्नुपर्ने कानुनी व्यवस्थाका लागि पहल गर्ने ।
१४. ललितकलाका विभिन्न विधामध्ये मूर्तिकला विधा अध्ययन गर्न निकै खर्चिलो हुनका साथै शारीरिक परिश्रम पनि बढी पर्ने र अन्य कारणले गर्दा ज्यादै कम विद्यार्थीले मात्र अध्ययन गर्ने हुँदा यस विधाको अध्ययनका लागि प्रोत्साहन गर्न छात्रवृत्तिलगायत अन्य सुविधाको व्यवस्था हुन आवश्यक पहल गर्ने ।
१५. नेपाली कलाकृति खरिदमा प्राथमिकता दिन पहल गर्ने ।