नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको सहकार्यमा शनिवार (२०८१ जेठ ५ गते) ‘ब्यानर लेखन प्रतियोगिता’ सम्पन्न भएको छ । जेठ १५–३० गतेसम्म हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’को प्रचार–प्रसारका साथै लेखनकलाको प्रवर्धन गर्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा कलाकार नगेन्द्रप्रसाद ताजपुरिया, सुरेशकुमार गुप्ता, मो. विलकैश खान, रामाकान्त चौधरी, सुरेन्द्रकुमार सिंह दनुवार, हरि किसुन चौधरी, उमेश साह तेली, सुरेन्द्रकुमार चौधरी, सुरेन्द्रप्रसाद चौधरी, बुद्धि विक, प्रदीपकुमार शाक्य, रामानन्द चौधरी, काजीकुमार, राधेश्याम चौधरी, रामकृष्ण चौधरी, चक्रबहादुर विश्वकर्माले सहभागिता जनाउनुभएको थियो । प्रतियोगिताका विजेतालाई ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’को समापनको दिन पुरस्कृत गरिने छ । पुरस्कारको राशी क्रमशः १०, ७ र ५ हजार रहेको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्य दिनेश्वर महतोलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन प्रतिष्ठानका प्राज्ञसभा सदस्य चन्द्रकुमार राईले गर्नुभएको थियो ।