नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभागको आयोजनामा पोखराको नेपाल गन्धर्व सामुदायिक विकास केन्द्र, बाटुलेचौरमा शनिवार (२०८१ असार १ गते) बाट सुरु भएको ‘सारङ्गी बनाउने कार्यशाला’ मङ्गलवार (२०८१ असार ४ गते) समापन भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभाका माननीय सदस्य दमयन्ती रुचालले गर्नुभएको थियो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताउँदै जनतादेखि सदनसम्म ललितकलाको विषयलाई पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खडका (बिखर्ची)ले ललितकला प्रतिष्ठानको यस कार्य सरहानीय भएको बताउँदै आगामी दिनमा हामी ललितकलासँग अझ धेरै सहकार्य गर्न आतुर रहेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले पोखरामा गरिएको यस कार्यशालाले उक्त क्षेत्रका गन्धर्व कलाकारलाई थप प्रोत्साहन मिलेको बताउनुभयो । कार्यशालामा प्रशिक्षक बुद्ध गायकसहित कलाकारहरू सुभाष गायक, सुशान्त गायक, निसान गायक, पुनम गायक, सञ्जोक गायक, सङ्गीता गायक, सुजन गायक, रोशन गायक, विशाल गायक, शोभा गायक, रञ्जना गायक, आविष्कार गायकलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, पोखरा महानगरका जनप्रतिनिधि मन्जु नेपाली, गन्धर्व समाजका केन्द्रीय अध्यक्ष सूर्यबहादुर गायक, गण्डकी प्रदेश दलित महिला अध्यक्ष सुमित्रा गायकलगायतको उपस्थिति रहेको थियो ।