काठमाडौँ महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा गौरवको कार्यक्रमअन्तर्गत स्वीकृत विद्यार्थीको नतिजा सुधार कार्यक्रमका लागि दसैँ र तिहारका बिचमा र जाडो बिदामा एसइई सहायता शिविर कार्यक्रम गर्ने सन्दर्भमा सोमवार (२०८१ कार्तिक ५ गते ) प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शान्ति शिक्षा मन्दिर मा.वि.,थहिटी, काठमाडौँमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई नेपाली ललितकला क्षेत्रसँगै आफ्नो कला यात्राका बारेमा विस्तृत रूपमा व्याख्या गर्दै यस विधामा धेरै सम्भावनाहरू रहेको बताउँदै विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुभयो । विद्यार्थीलाई अभिमुखीकरण गर्ने लक्ष्यका साथ गरिएको सो कार्यक्रममा सहजकर्ता कलाकारद्वय सम्झना राजभण्डारी र पृथ्वी श्रेष्ठबाट कुलपति नारदमणि हार्तम्छालीको सङ्क्षिप्त परिचय विद्यार्थीलाई प्रस्तुत गर्दै औपचारिक रूपले कार्यक्रमको थालनी गरिएको थियो । सो अवसरमा चित्रकार–मूर्तिकार तथा अन्य विधाहरूमा वास्तुकला, लोककला, सङ्गीत र कविता/केही फिल्म (चरित्र/पात्र) का साथै कला संस्कृतिबारेमा अनुसन्धान लेखनमा पनि अध्ययन, अनुभव र केही विशेष क्षमता राख्ने व्यक्तिका रूपमा प्रतिष्ठानको कुलपतिको भूमिका निर्वाह गरिरहेको व्यक्तित्वका रूपमा उहाँको परिचय गराइएको थियो ।चित्र/मूर्तिमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर हार्तम्छाली विगतमा ललितकला क्याम्पसको स्ववियु सभापतिदेखि भोजपुरमा गा.वि.स अध्यक्ष र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको दोस्रो कार्यकालमा प्राज्ञपरिषद् सदस्यको अनुभव उहाँसँग छ । यसै गरी २ पटक एकल कला प्रदर्शनी र कयौँ पटक सामूहिक रूपले राष्ट्रिय र अन्तर्राष्ट्रिय कला प्रदर्शनी गरिसक्नुभएका हार्तम्छालीले लोकगीतमा एक एल्बम र केही फुटकर गीतहरू सार्वजनिक गर्नुभएको छ । उहाँका ३ वटा कवितासङ्ग्रह प्रकाशित छन् भने ३ वटा साहित्यिक पत्रिका सम्पादन पनि गर्नुभएको छ । नेपाल सरकारबाट सुप्रवल जनसेवा श्री (तृतीय)–मूर्तिकलामा, राष्ट्रिय प्रतिभा पुरस्कार पूर्वाञ्चल (चित्रकलामा) लगायत ३०/४० वटा पुरस्कारहरू लोकगीत/सङ्गीत/कविता तथा अनुसन्धानात्मक कार्यपत्रलगायतमा ३५/४० वटा सङ्घ–संस्थाबाट अभिनन्दित र प्रशंसा–पत्र/सम्मानसमेत प्राप्त गर्नुभएको सो अवसरमा विद्यार्थीलाई जानकारी गराइयो ।सो अवसरमा प्रतिष्ठानका कुलपति हार्तम्छालीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको अनुसन्धान, सिर्जना र सम्मान भन्ने मूल सोचमा सामाजिक रूपान्तरणार्थ ललितकलाको अभियान चलाउने गरी प्रतिष्ठान संस्थागत रूपले लागि रहेको कुरा उल्लेख गर्नुभएको थियो । उहाँले सामान्यतः शब्द/सङ्गीतका कलाहरूसँगै ललितकला चाहि के हो ? भन्ने सवालमा कुरा पनि उल्लेख गर्नुहुँदै चित्र–मूर्ति र वास्तुकला तथा शिल्पकलाहरूमा पूर्ण सौन्दर्यात्मक दृष्यकला नै लालित्यको मानकले नेपाली समाजमा पनि भावनात्मक मनोरञ्जन र सूक्ष्म र बिम्ब–सन्देश दिने शैली र प्रस्तुति कलाका रूपमा बुझिने र बुझाइने गरिएको जसमा विविध उपलब्धिहरू प्रयोजन तथा औचित्यका आधारमा संस्कृति–सामाजिक स्वीकारोक्ति रहने कुरा पनि औँल्याउनु भएको थियो ।शिक्षा र सिर्जना अन्तरसम्बन्ध जोड्नु हुँदै बाल विकासमा नेचर, नर्चर र कल्चरको सन्तुलित भूमिका हुने जसमा विद्यार्थीले आफ्नो स्वभाव–नेचरलाई नर्चरमा समाहित गरी शिक्षक/अभिभावक तथा समुदाय र समाजका कल्चरमा विकास गर्न सिर्जनात्मक पक्षको विशेष भूमिका हुनुका साथै शिक्षाको दीक्षा पनि भविष्यमा व्यवहारतः प्राप्त गर्न ललितकलाको माध्यम पनि निकै औचित्यपूर्ण हुने विचार व्यक्त गर्नुभयो । उहाँले विद्यार्थी/अभिभावक र शैक्षिक जगत्का सरोकारी–जिम्मेवारी रहेकाले आ–आफ्नो पहिचान, पहल र पहुँच बढाउनुपर्ने सवाललाई जोड दिनुभयो ।भविष्यमा विद्यार्थीहरूले आ–आफ्नो करियर र सन्तोषको विधा विषय रोज्दा– सोख, भोक र लोकलाई सन्तुलन गर्न र जुनसुकै विधामा आ–आफ्नो कर्तव्य भूमिकाको क्षेत्र रोज्दा तथा विशेषज्ञता हासिल गर्दा ललितकलाको आधारभूत ज्ञानले सहजता साथ सहयोग मिल्ने बताउनुभयो ।उक्त कार्यक्रम परियोजनाको व्यवस्थापकीय अन्य भौतिक आर्थिक सहकार्यमा विशेषतः काठमाडौँ महानगरपालिका र सहजकर्ता कलाकारहरूलाई विशेष धन्यवाद दिनुहुँदै विद्यार्थी भाइबहिनीहरूले भावी दिनमा सिर्जनात्मक रूपले शिक्षा हासिल गरी आफ्नो जीवन र यो समाजलाई पनि प्रगतिपथमा लान शुभकामना दिनुभयो । यस कार्यक्रम कार्तिक ५ गतेदेखि १३ गतेसम्म १६ वटा विद्यालय केन्द्रमा सञ्चालन गरिने छ ।
