नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभागको आयोजनामा आइतबार (२०८१ असार ९ गते) बाट ‘प्रिन्टमेकिङ कार्यशाला २०८१’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हातम्छालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, अरुणा हिङमाङलगायतको उपस्थिति रहेको थियो ।
कुलपति हार्तम्छालीले यस कार्यशाला महत्त्वपूर्ण रहको बताउँदै यस विधाका कलाकारले आफ्नोपन/मौलिकता देखाउन आवश्यक रहेको धारणा राख्नुभयो । सदस्य सचिव थुम्केलीले कार्यशाला सफलताको शुभकामना दिँदै यस विधाका कलाकारलाई सहजीकरण गर्न प्रतिष्ठानले सक्दो सहयोग गर्ने बताउनुभयो । प्राज्ञ सौरगंगा दर्शनधारीले प्रिन्टमेकिङ विधामा कार्यशालाहरू कम भइरहेको सन्दर्भमा यस कार्यशालाले कलाकारहरूलाई थप सहयोग गर्ने बताउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तावाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रिन्टमेकिङ विधाका कलाकारहरूलाई प्रोत्साहित गर्न यस कार्यशालाको आयोजना गरिएको बताउनुभयो । मङ्गलवार सम्पन्न हुने कार्यशालामा कलाकारहरू सुनिता राणा, सङ्गीता घिमिरे, विपना महर्जन, सन्तोष सिग्देल, भीषण राजभण्डारी, टीकादत्त दाहाल, सोनी राई, विद्यमान तामाङलगायतको सहभागिता रहेको छ ।