नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र पाँचपोखरी थाङपाल गाउँपालिका (सिन्धुपाल्चोक) को आयोजनामा मङ्गलवार(२०८२ जेठ ६ गते)बाट ‘पाँचपोखरी चित्रकला पर्यटन प्रवर्धन कार्यशाला’ सुरु भएको छ । कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले यस किसिमका कार्यशालाले सामाजिक चेतनासँगै स्थानीयको जीवनस्तर उकास्न मद्दत पु¥याउने बताउनुभयो । उहाँले गाउँपालिकाको प्रकृति, संस्कृतिलगायतको चित्रण यस कार्यशालामा सिर्जना गरिने कलाकृतिमा देख्न पाइने विचार व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष टासी लामाले कलाको संरक्षणमा गाउँपालिका सधैँ अघि बढ्ने जानकारी गराउनुभयो । उहाँले गाउँपालिकालाई पर्यटनको केन्द्र बनाउन लागिपरेको बताउनुभयो । पालिकाका वडा नं ३ का वडाध्यक्ष ङिमा छिरिङ तामाङले पर्यटन प्रवर्धनमा चित्रकला कार्यशालाले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । उहाँले स्थानीयको आर्थिक समृद्धि पर्यटनबाट सम्भव भएकाले ललितकलार्मीहरूले पनि यस कार्यक्रममार्फत योगदान दिने धारणा राख्नुभयो । ८ गतेसम्म चल्ने कार्यशालामा केशवराज खनाल, राजन काफ्ले, दिवेशमान प्रधान, नरबहादुर विके, लिलाधर केसी, राजेन्द्र कुँवर, रामनारायण महतो, सुष्मा श्रेष्ठ, मनरा प्रजापति, प्रितम थापा, सिकेन्दर चौधरी, सनद महर्जन, विनिता खड्का, कमल अधिकारी, सर्मिला मोक्तान, रोजिना गुरुङलगायतको सहभागिता रहेको छ ।