नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम समन्वय समिति र थारू कल्याणकारिणी सभा, कञ्चनपुरको आयोजना र पौलाहा उत्तर टोल, बेलौरी–७ कञ्चनपुरको समन्वयमा कञ्चनपुरको बेलौरी–७ पौलाहामा शनिवार (२०८१ माघ २६ गते)  ‘थारू लोककला कार्यशाला’ सम्पन्न भएको छ । बेलौरी–७ पौलाहा उत्तर टोलका भलमनसा तथा वडा सदस्य देसु चौधरीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका वास्तु तथा लोककला विभाग प्रमुख एवं सुदूरपश्चिम समन्वय समितिका संयोजक प्राज्ञ प्रदीप अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका वास्तु तथा लोककला विभाग प्रमुख एवं सुदूरपश्चिम समन्वय समितिका संयोजक प्राज्ञ प्रदीप अधिकारीले ललितकला र थारू लोककलाको महत्त्वका बारेमा प्रकाश पार्दै लोपोन्मुख मौलिक लोककलाको संरक्षण गर्न सकिए मात्र समुदाय पूर्ण हुने र त्यसबाट पर्यटनको विकास गर्न सकिने बताउनुभयो । साथै उहाँले कलालाई रोजगारसँग जोड्नुपर्ने विचार राख्नुभयो ।
बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरीले थारू संस्कृतिका बारेमा नगरले काम गरिरहेको भए पनि यसरी लुकेर रहेका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्थापित हुन सक्ने प्रतिभाहरूलाई चिन्न नसकेको बताउँदै प्रतिष्ठानसँगको सहकार्यमा त्यस्ता प्रतिभाको उजागर गर्न नगर प्रतिबद्ध रहेको बताउनुभयो ।
बेलौरी–७ पौलाहा उत्तर टोलका भलमनसा तथा वडा सदस्य देसु चौधरीले आफ्नो मौलिक कला, संस्कृतिको संरक्षण, संवर्धन र विकासका लागि टोलमा यस किसिमको कार्यशाला महत्त्वपूर्ण भएको बताउनुभयो । साथै उहाँले स्थानीय लोक–हस्तकलाको बजारीकरणमा सबै क्षेत्र जुट्नुपर्ने विचार राख्नुभयो ।
थारू कल्याणकारिणी सभा कञ्चनपुरका सभापति सानु चौधरीले थारू कल्याणकारिणी सभाले भाषा, संस्कृति र कलाको संरक्षणको अवधारणाअनुसार अघि बढेको बताउँदै विशेष गरी थारू लोककलाको संरक्षण, संवर्धन, प्रवर्धन र विकासका कार्यक्रममा प्रतिष्ठानसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यशालामा स्थानीय १७ जना लोककलाकारहरूको सहभागिता रहेको थियो ।