नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देहीको सहआयोजना तथा बुटवल नगरपालिका, तिलोत्तमा नगरपालिकाको सहकार्यमा रुपन्देही उद्योग सङ्घ, बुटवलमा फागुन १० गतेबाट सुरु भएको ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ को सन्दर्भ पारेर आयोजना गरिएको चित्रकला प्रतियोगिता आइतबार (२०८१ फागुन ११ गते) सम्पन्न भएको छ । प्रदेशका १६ विद्यालयका विद्यार्थीहरूबिच गराइएको प्रतियोगितामा सफलता पौडेल (सिद्धार्थ इङलिस बोर्डिङ स्कुल) प्रथम, रक्षा सुनार (मणिमुकुन्द सेन स्कुल) द्वितीय, प्रसिद्धि बस्नेत (तिनाउ इङ्लिस बोर्डिङ स्कुल) तृतीय र आर्यन परियार (क्यानन सेकेन्डरी स्कुल) ले सान्त्वना स्थान हासिल गर्नुभएको थियो । विजयीहरूलाई प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रमाण–पत्र तथा कला सामाग्री प्रदान गर्नुभएको थियो । उहाँले प्रतियोगितामा सहभागी र पुरस्कृत विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्रतियोगिताको निर्णायकका रूपमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी र कलाकार केशवराज खनाल रहनुभएको थियो ।
अग्रज कलाकार मन गोल्डीका अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कलाकार एच.बी.रम्तेल, साहित्यकार डा.हिरण्यलाल ज्ञवाली, कलाकार विष्णुप्रसाद सुवेदी, बेनप्रसाद थापा, हरिबहादुर वयम्बू थापा, राजु खड्कालगायतको उपस्थिति रहेको थियो । प्रदर्शनीको दोस्रो दिन कलाकार नरबहादुर विकेले चित्रकलाको डेमोन्स्ट्रेसनसमेत दिनुभएको थियो । प्रदर्शनी फागुन १४ गतेसम्म चल्ने छ ।