नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गुल्मीको सत्यवती गाउँपालिकाको आयोजनामा १० दिने ‘काष्ठकला, चित्रकला तथा मूर्तिकला कार्यशाला २०८१’ बिहीबार (२०८१ कार्तिक १ गते ) बाट सुरु भएको छ । सत्यवती–३, ठूलोलुम्पेकमा आयोजित कार्यशालाको लुम्बिनी प्रदेश सांसद चिन्तामणि पाण्डेले बिहीबार उद्घाटन गर्नुभयो । ग्रामीण पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको यस कार्यशालामा उहाँले प्रदेश सरकारले यस्ता कार्यक्रममा आवश्यकताअनुसार सहयोग गर्ने बताउनुभयो । सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले दश दिनसम्म चल्ने कार्याशालाले सत्यवतीको पहिचान दिने बताउनुभयो । यसै गरी पालिकाका वडा नं ३ का अध्यक्ष जितुबहादुर त्रामु मगरले ग्रामीण पर्यटन प्रवर्धनका लागि कार्याशालाको आयोजना गरिएको बताउनुभयो । उद्घाटन समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य नरेन्द्रप्रसाद भण्डारी र प्राज्ञ यमबहादुर थापाले कार्यशालाको महत्त्वबारे प्रकाश पार्नुभयो । कार्तिक १० गतेसम्म चल्ने कार्यशालामा प्राज्ञ नरेन्द्रप्रसाद भण्डारी, प्राज्ञ यमबहादुर थापा, भुवन थापा ‘बहुवि’, बेनु थापा, विशाल सारु मगर, कुशल थापा, सुमित्रा राना सुतपराई, सुजना श्रीस, हरि बयम्बु, श्याम प्रजापति, गोविन्द चौधरी, शान्त राहादी, प्रितम राना, अजय नेपाली, रिमा मिधुन, देविराम राहादी, निलम राहादी मगर, जय पुलामी, गमदेव तरामु, पुजन खतिवडा, यमबङ थापालगायतले सहभागिता जनाउनुभएको छ ।