नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना र बेलबारी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको ‘कोसी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ शुक्रवार(२०८१ फागुन १६ गते)बाट मोरङस्थित नेपाल तमु बुद्धिस्ट गुम्बामा सुरु भएको छ । प्रदर्शनीको प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उहाँले प्रदर्शनीले प्रदेशको ललितकलाको उत्थानमा महत्त्वपूर्ण सहयोग गरेको बताउनुभयो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीले प्रदेशको ललितकलाको उत्थान र रैथाने कलाको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । समसामयिक चित्रकला विभाग प्रमुख एवं कोसी प्रदेश समन्वय समितिका संयोजक संजय बान्तवाले प्रदर्शनीमा प्रदेशका विविध विधालाई प्रतिनिधित्व गर्ने १८६ कलाकारका २२१ कलाकृति समाविष्ट रहेको जानकारी दिनुभयो । प्रदर्शनीमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू सौरगंगा दर्शनधारी, अरुणा हिङमाङसँगै प्रदेशका कलाकार, पत्रकार, सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेतालगायतको उपस्थिति रहेको थियो । प्रदर्शनीको सन्दर्भ पारेर प्रदेशका कलाकारहरू अनुराधासिंह थापा (विराटनगर), डिल्लीकृष्ण आले (धनकुटा), कृष्णभक्त गजमेर (पथरी), पवन राजवंशी (झापा), किन्थल खवास (बेलवारी)लाई विशेष सम्मान समेत गरिएको थियो । २० गतेसम्म चल्ने प्रदर्शनीको प्रवर्धकको रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
प्रदर्शनीको दोस्रो दिन कला कार्यशाला, तेस्रो दिन समसामयिक कला, लोककला तथा रैथाने कलासम्बन्धी अन्तरक्रिया गरिएको थियो ।