नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना र बेलबारी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा फागुन १६ गतेबाट सुरु भएको ‘कोशी प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मङ्गलवार (२०८१ फागुन २० गते ) सम्पन्न भएको छ । प्रदेशका माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा माननीय मीना श्रेष्ठ (कोसी प्रदेश) र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा माननीय मन्त्री राईले प्रदेश स्तरमा यस्ता ललितकलासँग सम्बन्धित कार्यक्रमहरू आवश्यक रहेको बताउँदै स्थानीय कलाकारहरूको सिर्जना प्रवर्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले कोशी प्रदेशको कला, संस्कृति, र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै प्रदर्शनीमा कलाकारहरूले मौलिक स्थानीय सांस्कृतिक धरोहरलाई समेत आफ्ना सिर्जनामा समेट्ने प्रयास गरेको देख्दा खुसी लागेको बताउनुभयो । माननीय मीना श्रेष्ठले बोलीबाट प्रस्ट पार्न नसकिएका भावनाहरूलाई कलाका माध्यमबाट अभिव्यक्त गरिएको बताउँदै सम्पूर्ण कलाकारहरूलाई प्रदर्शनीमा सहभागी हुनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नयाँ प्रतिभाहरू खोज्न यो प्रदर्शनीको ज्यादै नै महत्वपूर्ण भूमिका रहेको र प्रदेश स्तरमा यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जाने योजना रहेको बताउनुभयो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख एवम् कोशी प्रदेश समन्वय समितिका संयोजक चित्रकला विभाग प्रमुख संजय वान्तावा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोको समेत सहभागिता रहेको थियो । समारोहमा समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक संजय वान्तावाले कार्यक्रममा सहभागी हुन भएका सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिँदै कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग दिनुहुने सङ्घ–संस्था, कलाकार, स्थानीय जनप्रतिनिधिहरु, पत्रकार, विद्यार्थी, शिक्षकलगायत सम्पूर्णलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रममा कोशी प्रादेशकि ललितकला प्रदर्शनीमा सहभागी सम्पूर्ण कलाकार, समिति, उपसमितिका सदस्य एवम् अन्य सहयोगीहरूलाई प्रमाण–पत्र एवं मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा कलाकार, संस्कृतिकर्मी, पत्रकार तथा स्थानीय बासिन्दालगायतको सहभागिता रहेको थियो ।

