नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा बिहीबार (२०८१ पुस ४ गते ) कलाकार सम्मान कार्यक्रम सम्पन्न भएको छ । महासङ्घको कला तथा शिल्प परिषद्को संयोजनमा प्रकाशित साधनमाला (२५१–३१२ साधनको नेपाली अनुवाद) मा संलग्न कलाकारलाई सम्मान गरिएको यस कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उक्त कार्यक्रमको नायक उक्त पुस्तक प्रकाशनका निमित्त आफ्ना कला सिर्जनामार्फत पूर्णता दिनुहुने कलाकारहरू भएको बताउनुभयो । उहाँले यस पुस्तकमार्फत परम्परागत कला सिर्जनाको ज्ञानलाई समय–सापेक्ष आधुनिकीकरण गरी नयाँपुस्तामा हस्तान्तरण गर्न सके थप प्रभावकारी हुने बताउनुभयो । नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले पुस्तक लामो समयको मेहनतपश्चात् तयार भएको बताउनुभयो । उहाँले पुस्तकको प्रथम भाग प्रकाशन भइसकेको र हाल उक्त पुस्तकको दोेस्रो भाग सार्वजनिक गरिएको जानकारी गराउनुभयो । नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष नवीन शाक्यले साधनमाला पुस्तक सबैका लागि उपयोगी भएको बताउँदै विशेषतः धातुकला, काष्ठकला, बौद्ध परम्पराअनुसार तयार हुने कुनै पनि कलासिर्जनाका लागि यस पुस्तक प्रभावकारी अध्ययनको स्रोत हुने विचार व्यक्त गर्नुभयो । पुस्तक प्रकाशन समितिका संयोजक उजय बज्राचार्यले ‘साधनमाला’ प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।