नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ तथा प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतोलगायतले शनिवार (२०८१ पुस १३ गते) कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलगायतसँग प्रादेशिक ललितकला प्रदर्शनी २०८१ र ललितकलाका विविध विषय तथा क्षेत्रमा गरिने सहकार्यका बारेमा छलफल गर्नुभयो । सो अवसरमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलालाई पहिचान, पहल र पहुँचसँग जोड्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको थियो । उहाँले कर्णाली प्रदेशको रैथाने कलाका सिप र ज्ञानलाई उजागर गरेमा त्यसले पृथक् परिणाम दिने कुरा उल्लेख गर्नुभएको थियो । सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रदेश प्रज्ञा–प्रतिष्ठान गठन, कला र कलाकार सर्वेक्षण, काठमाडौँ ट्रिएनाले, मध्यपश्चिम विश्वविद्यालयमा कला विभाग स्थापना, कला पर्यटन, स्थानीय पाठ्यक्रममा कलालगायतका विविध विषयको चर्चा गर्नुभएको थियो ।