नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा बुधवार (२०८१ भदौ १९ गते) ‘कर्णालीमा ललितकला’ छलफल कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेशबाट काठमाडौँ उपत्यकामा रही कलाकर्म गरिरहनुभएका कलाकार, विज्ञ, संस्कृतिकर्मी, जनप्रतिनिधि, राजनीतिज्ञलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरणमन्त्री मा. ऐनबहादुर शाही ठकुरी हुनुहुन्थ्यो । उहाँले कर्णाली प्रदेशमा ललितकलाको गतिविधिलाई अघि बढाउन सरकारले सक्दो सहयोगका लागि पहल गर्ने बताउनुभयो । ‘प्रदेशका विभिन्न कला, संस्कृति, भाषा, साहित्य तथा ललितकला लोप हुँदै गएको अहिलेको परिवेशमा यसको संरक्षण र संवर्धन गर्न हामी सबै लाग्नु आवश्यक छ । यिनको अनुसन्धान गर्न सकेमा हाम्रो देशलाई ठुलो योगदान पुग्ने छ’, मन्त्री ठकुरीले भन्नुभयो । प्रतिनिधि सभा सदस्य विनिता कठायतले कर्णालीलाई राज्यले हेर्ने दृष्टिकोण जे जस्तो रहे तापनि ललितकला प्रज्ञा–प्रतिष्ठानको अग्रसरतामा भएको यस कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा (तामाङ) ले कर्णाली प्रदेशमा विकास भएका ललितकलालाई केन्द्र हुँदै विश्व स्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णालीलाई समृद्धिको मार्गमा लैजानका लागि पनि ललितकलाको संरक्षण, प्रवर्धन, संवर्धन तथा विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रतिष्ठानले कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ललितकलालाई केन्द्रमा राखी त्यस ठाउँको सभ्यता, संस्कृति, जनजीवनसँग जोडेर अगाडि बढ्दै प्रदेशस्तरमा समेत ललितकलाको संरचना तयार गर्नु आवश्यक छ ।’
उपकुलपति लालकाजी लामाले कर्णाली प्रदेशमा रहेका रैथाने कला, ज्ञान, सिपलाई समाजसँग जोडेर लाने प्रयत्न गरेको र समाजलाई प्राज्ञिक हिसाबले अगाडि बढाउन प्रतिष्ठान सधैँ तयार रहेको बताउनुभयो । उहाँले आगामी दिनमा ललितकला क्षेत्रलाई अघि बढाउनका लागि स्रोत व्यवस्थापनमा आवश्यक पहल गरिदिन सांसदहरूलाई आग्रह गर्नुभयो ।
छलफल कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत प्रतिष्ठानको साङ्गठनिक संरचना, गत आ.वका गतिविधि, आगामी योजना, कर्णाली प्रदेशमा ललितकला गतिविधि, ललितकला र पर्यटन, अर्थतन्त्रमा ललितकलाको योगदान, समाज रूपान्तरणमा ललितकलाको भूमिका, ललितकला क्षेत्रका प्रदेश तथा स्थानीय कला–सांस्कृतिक संरचना गठन र त्यसका लागि कानुनी एवम् नीतिगत सवाल, वर्तमान परिवेशमा रैथाने कलाको संरक्षण÷प्रवर्धन, स्थानीय पाठ्यक्रममा कला–शिक्षालगायतका विविध विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.डा जीवेन्द्रदेव गिरीले कर्णालीका बारेमा गहिराइमा पुगेर अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशको हिमाली क्षेत्र, सिँजा, काँक्रेबिहारसँगै खस संस्कृति, बौद्ध संस्कृति र जनजीवन, पाटी, पौवा, पँधेरा, देवल, मन्दिर, चैत्य, गुम्बा आदिको छुट्टै पहिचान रहेको बताउँदै तिनलाई संरक्षण गर्न पहल गर्नुपर्ने धारणा राख्नुभयो । ‘यहाँ सबैका आ–आफ्ना कला, संस्कृति छन् । तिनका बारेमा जुन कुरा लेखे पनि नयाँ हुन्छ । विभिन्न समुदायहरूको सङ्ग्रहालय पनि बनाउन सकिन्छ ।’ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले छलफल कार्यक्रमको विषयवस्तु नै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कर्णाली प्रदेशलाई समेटेर गरेको प्रादेशिक ललितकला प्रदर्शनी र राष्ट्रिय ललितकला प्रदर्शनीमा तिनलाई पुरस्कृत गरेर राम्रो कामको थालनी भइसकेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कर्णालीमा सिँजाको सभ्यतासँगै देवल, ढुङ्गेघारा, मन्दिर, उपल्लो हिमाली भेगका महत्त्वपूर्ण गुम्बा, चैत्यलगायतका विविध कला, संस्कृति छन् । यिनको दस्ताबेजीकरणको काम गर्न केन्द्रका तीनवटै प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले सहकार्य गर्न आवश्यक छ ।’ नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य डा. मधुसूदन गिरीले सभ्यताको पाटाबाट कर्णालीको ललितकलाको अध्ययन व्यापक रूपमा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समृद्धिका आधारसँग कलाका कुरा खोज्नुपर्छ । कर्णाली सभ्यता र त्यहाँका ललितकलाको अध्ययन गर्नुपर्ने व्यापक कुराहरू छन् । जसले पुरानो कर्णालीको प्रतिनिधित्व पनि गर्छ । त्यहाँका समुदायको कला खोज्नुपर्छ । यसलाई बुझ्न र खोजी गर्न स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्छ । यसलाई पाठ्यक्रममा समेट्न सकेमा अझ राम्रो हुन्छ ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य बखतबहादुर हमालले कर्णालीमा थुप्रै काम गर्न बाँकी रहेको र त्यसका लागि सबैले माध्यम खोजी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, विधागत रूपमा मिल्ल सकिने विषयमा हामी संयुक्त रूपमा मिलेर जाने छौँ ।’ जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष भीम कुमाखीले कर्णालीको कला, संस्कृतिको संरक्षणका लागि प्रदेश प्रज्ञा–प्रतिष्ठानको गठन गरिनुपर्नेमा जोड दिनुभयो । ‘त्यसका लागि राजनीति, गैरसरकारी संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ ।’, उहाँले भन्नुभयो । कुमाखीले अध्ययन–अनुसन्धानका विषयमा कलाकारहरू पनि व्यक्तिगत रूपमा लागेमा अझ राम्रो हुने धारणा राख्नुभयो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ कर्णाली प्रदेशका इन्चार्ज पदमबहादुर रोकायले कर्णालीका कलात्मक चिजलाई संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले यसका लागि प्रतिष्ठानमार्फत यस्ता गतिविधि गरेमा राम्रो हुने धारणा राख्नुभयो ।
कलाकार महेन्द्र मल्ल ठकुरीले कर्णालीका विविध भाषा, कला, संस्कृतिको दस्ताबेजीकरण गर्न आवश्यक रहेको बताउनुभयो । कलाकार दोर्जी कामरोङले कर्णालीको उपल्लो हिमाली क्षेत्रको आफ्नै कला, संस्कृति, जनजीवन रहेकाले त्यहाँका बारेमा पनि खोज, अध्ययन–अनुसन्धान गर्न जरुरी रहेको धारणा राख्नुभयो । कलाकार सोनाम लामाले कर्णाली प्रदेशका गाउँ–गाउँमा विविध कला रहेको उल्लेख गर्दै मुख्यतः त्यहाँका हिमाली क्षेत्रको कलाका बारेमा विज्ञहरूमार्फत खोजी गरिनुपर्ने बताउनुभयो । कलाकार थुक्तेन लामाले कर्णालीको सभ्यता, संस्कृति धेरै पुरानो रहेकाले त्यहाँ पुगेमा धेरै कुरा पाउने धारणा राख्नुभयो ।
कार्यक्रममा अग्रज कलाकार कुन्क्याप लामा, कलाकार सोनाम डोल्मा, कोशल हमाल, पेमा लामा, नोर्बु साङमु तामाङ, दिपेश नेपालीलगायतले कर्णालीको कला, संस्कृतिको संरक्षण, प्रवर्धनमा गर्नुपर्ने कामका विषयमा चर्चा गर्नुभएको थियो ।
प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक पाल्साङ्मो लामाले प्रदेशका परम्परादेखिका कला, संस्कृतिलाई खोज, अनुसन्धान गरी स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा ललितकलाको काम अघि बढाउन सकेमा कर्णालीको थुप्रै कुरा बाहिर आउने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङमाङ प्राज्ञसभा सदस्य झिग्मे लामा, प्रदिप शाक्य, लालमान लामा तथा कर्णालीलाई प्रतिनिधित्व गर्ने कलाकार, राजनीतिकर्मी, संस्कृतिकर्मी, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।