नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको ‘एक बर्से प्राज्ञिक जिम्मेवारी फर्केर हेर्दा’ कार्यक्रम शुक्रबार (२०८० फागुन ४ गते) सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एकअर्काबिचको सम्बन्धलाई प्रगाढ बनाउने सेतुका रूपमा ‘छलफल एवम् भेटघाट कार्यक्रम’ राखिएको बताउनुभयो । उहाँले यस कार्यक्रमले नेपाली कला, साहित्य तथा संगीतका क्षेत्रमा विशिष्ट महत्त्व राख्ने बताउँदै जसबाट प्राज्ञिक मूल्य–मान्यताका विपरीत हुने बेमेल, विद्वेषजन्य कुरूप संस्कृतिको अन्त्य हुने जिकिर गर्नुभयो । उहाँले संस्कृतिकर्मीका राम्रा पक्षको अनुसरण गर्नुपर्ने र कमीकमजोरीहरूको समीक्षा गर्दै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानको आफ्नै शक्ति र सीमा रहेको उल्लेख गर्दै एक बर्से समयावधिको छोटो चर्चा गर्नुभयो । उहाँले मूलतः भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्रका क्षेत्रभित्र रही प्रतिष्ठानले ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने मूल नाराका साथ खोज, अध्ययन, अनुसन्धान र प्रकाशनका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । यी विधाको उन्नयनका लागि प्रतिष्ठानका ११ ओटै विभागहरूले काम गरिरहेको बताउँदै डा. सुवेदीले प्राज्ञिक क्षेत्रले नैतिक मूल्य, मान्यता, आचरण सिकाउनुपर्ने र राज्यमा त्यसको कार्यान्वयन गर्नुपर्नेमा विचार व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले केन्द्रीय, प्रादेशिक र स्थानीय तहका प्रतिष्ठानबिच समन्वय एवं सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले राज्यका हरेक तह र तप्काका मानिसलाई प्रज्ञा–प्रतिष्ठानका काम र कर्तव्यबारे जानकारी हुनुपर्ने र गराउनुपर्ने बताउनुभयो । उहाँले कला, साहित्य, संगीत तथा संस्कृतिको महत्व बताउँदै सर्जक व्यक्तिलाई उसको सिर्जन व्यक्तित्वले नकारात्मक एवम् गलत कार्यतर्फ उन्मुख हुन नदिने धारणा व्यक्त गर्नुभयो । कुलपति राईले नेपालमा १३२ भन्दा धेरै भाषा रहेको बताउँदै त्यसको संरक्षण गर्नुपर्ने पाटो एउटा रहेको र ती भाषाहरूको ज्ञानको पाटो अर्को रहेको बताउँदै समाजका हर क्षेत्रका व्यक्तित्वहरूले त्यसको ज्ञान लिनुपर्ने विचार राख्नुभयो । उहाँले सबै भाषाको ज्ञानाभाव एवम् अर्थाभावका कारण अर्थको अनर्थ भई विभिन्न कानुनी जटिलताहरू, समस्याहरूमा निर्दोष व्यक्तिहरूले सजाय भोग्नुपरेको समेत सुनाउनुभयो । कुलपति राईले भन्नुभयो, ‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सहकार्य, सहअस्तित्वका लागि जुन अभियान चलाएको छ र थोरै बजेट पनि धेरै काम गरेको छ, यस सहकार्यको संस्कृतिलाई अन्य प्रतिष्ठानहरूले पनि अवलम्बन गर्नुपर्दछ । साथै यस किसिमको कार्यक्रमले विचार एवम् चेतनाको जागरणमा विशेष भूमिका खेल्न मद्दत मिल्छ ।’
कार्यक्रमका विशिष्ट अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्रतिष्ठानको समग्र विकासका लागि सहमति, सहकार्य र चुस्त टिमवर्कको वातावरण हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सीमित बजेट र सीमित भौतिक स्रोत साधनबाट पनि नयाँ नयाँ सिर्जनशील कामको सुरुवात भएका छन् ।’ उहाँले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक वर्षको बीचमा तीन दर्जन बढी कार्यक्रम गरेको जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानमा खोज एवम् अनुसन्धानको काम अघि बढेको बताउँदै नेपालको मौलिक संस्कृतिको जर्गेनामा काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको यस किसिमको अन्तक्र्रिया एवम् भेटघाट कार्यक्रमले एकअर्काबिच परस्परिक सम्बन्ध रही सहकार्यकोे वातावरण सिर्जना भएको बताउँदै उपकुलपति राईले प्रज्ञा–प्रतिष्ठानहरू भाषा, साहित्य, सङ्गीत, कलालाई जनजनमा चिनाउने कार्यमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘प्रज्ञा पोखरा घोषणा–पत्र, काठमाडौं प्रज्ञा घोषणा–पत्रले उठाएका सवालहरू, संस्कृति नीति एवम् केन्द्रीय, प्रादेशिक र स्थानीय स्तरमा गठन हुने सांस्कृतिक संरचनाबिचको समन्वय, नीति, नियम, कलाकार उपचार कोष आदिका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘राज्यले कला र संस्कृतिको महत्व नबुझेको र अन्य क्षेत्रका तुलनामा कला, साहित्य क्षेत्रमा कम बजेट छुट्ट्याएको छ । समानुपातिक, समावेशी ढङ्गबाट राज्यका हर क्षेत्रको बजेटको बाँडफाँड हुनुपर्दछ ।’ कुलपति हार्तम्छालीले यसका लागि सबै सरोकारवाला निकायहरूले सम्बन्धित क्षेत्रमा गई ढोका ढकढकाउनुपर्ने विचार व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, ‘कला, साहित्य, संगीत तथा संस्कृतिको विकासविना राज्यले समृद्धि हासिल गर्न र आर्थिक क्रान्ति गर्न सक्दैन ।’ राष्ट्र राष्ट्रियपन एउटै रहेको जिकिर गर्दै जगैदेखि ललितकला र सङ्गीतको पनि उन्नयनका लागि भाषा, साहित्यका विषयवस्तुलाई मात्र पाठ्यक्रममा समावेश नगरी समावेशी र समन्यायिक ढङ्गबाट ललितकला र सङ्गीतका विषयवस्तुलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार हार्तम्छालीले राख्नुभयो । एकबर्से कार्यकाललाई सरसर्ती विश्लेषण गर्दै कुलपति हार्तम्छालीले अब आफूहरू उत्तर दिने अवस्था आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यमा अवसर, बाधा, कमजोरी र सबलता चारओटा विषयवस्तुहरूसँगै आउँछन् । लक्ष्य सिद्धिका लागि बाधा र कमजोरीहरूलाई हटाई जिम्मेवारीबोध गरी सरलता, मौलिकताले अविच्छिन्न भई सक्रियताका साथ सहकार्य र सहअस्तित्वमा भाषा, साहित्य, कलाको विकास र सामाजिक, आर्थिक रूपान्तरण एवम् समृद्धिका लागि अगाडि बढ्नुपर्दछ ।’
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले पावरपोइन्टका मार्फत प्रतिष्ठानका एकबर्से समयावधिका विशेष गतिविधिहरूलाई प्रस्तुत गर्नुभएको थियो । उहाँले नेपालको सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन समन्वय गर्दै अघि बढ्ने विचार राख्दै ललितकलाको संरक्षण, संवद्र्धन एवम् प्रवर्धन गर्दै रैथाने, मौलिक कला र संस्कृतिको उजागर गरी कलामा मौलिकता एवम् सिर्जनात्मकता भर्दै कलालाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मौलिकता जोगाउँदै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ प्रतिष्ठानले कलामा पुनर्जागरणको अभियान चलाएको जिकिर गर्नुभयो । सदस्य सचिव थुम्केलीले प्रादेशिक ललितकला प्रदर्शनी, देशका सातै प्रदेशका विभिन्न ठाउँहरूमा गर्न गइरहेको जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म भएका ललितकला सम्बद्ध गोष्ठी, अन्तक्र्रिया, कला कार्यशाला, प्रदर्शनी, विभिन्न सङ्घ–संस्था, विश्वविद्यालय, प्रदेश एवम् स्थानीय स्तरका प्रज्ञा–प्रतिष्ठान, स्थानीय तहबिच भएको सम्झौता एवम् सहकार्यलाई ललितकलाको उन्नयनको पुनर्जागरणका रूपमा हेरिएको जनाउनुभयो । उहाँले किरात वास्तुकला, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, नेपालका लोककला, हस्तकला, परम्परागत कला जस्ता विषयमा अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँका अनुसार ललितकलाको खोज, अध्ययन, अनुसन्धानका लागि अर्धवार्षिक जर्नल ललितकला प्रज्ञा प्रकाशन सुरु गरिएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानले एक वर्षका बिचमा गरेका विभिन्न प्रशिक्षण, कार्यशाला, गोष्ठी, अन्तक्र्रिया, अभियान, प्रदर्शनी लगायतका कार्यक्रमका बारेमा जानकारी दिँदै थुम्केलीले समाजको समृद्धिका लागि कलाको महत्व विशिष्ट रहने विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानले नेपालको मौलिक रैथाने संस्कृति तथा शिल्पज्ञानलाई अगाडि बढाउने गरी कार्यक्रम गरिरहेको सुनाउनुभयो । उहाँका अनुसार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा कलाको सञ्चार गरिरहेको र यसको बहुआयामिक पक्षका बारेमा बहस गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यसबिचमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकला क्षेत्रको रणनीतिक योजना बनाएको सुनाउँदै विभिन्न कार्यविधिसमेत बनाइएको जानकारी दिनुभयो । सदस्य सचिव थुम्केलीले नेपाली ललितकलाको प्राज्ञिक उन्नयनका लागि प्रतिष्ठानले योजनाबद्ध ढंगले काम गरिरहेको धारणा राख्नुभयो ।
उक्त भेटघाट तथा छलफल कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी, दिनेश्वर महतो, सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, त्रैलोक्यमान बनेपाली, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरू लालमान लामा, अशोक लामा, झिग्मे लामा, चन्द्रकुमार राई, नरेन्द्रप्रसाद भण्डारी, प्रदीप शाक्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरू डा.कृष्णराज सर्वहारी, चेतनाथ धमला, काठमाडौं विश्वविद्यालय आर्ट एण्ड डिजाइनका सहप्राध्यापक सुजन चित्रकार, संस्कृतिकर्मी भीम कुमाखी, गायक तथा सङ्गीतकार धनु ग्याङ्मी, लेखक तथा कलाकार तीर्थ निरौला लगायतको उपस्थिति रहेको थियो ।