MONARCH को आयोजनामा भारतको पश्चिम बङ्गालस्थित मुर्सिदावादमा २०८१ माघ १० गतेबाट सुरु भएको ‘आर्ट वर्कसप थिएटर फेस्टिबल ३९’ मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभयो । विश्ववा महानन्द महाराजको अध्यक्षतामा भएको कार्यक्रममा ललितकला, नाट्य, गीत, सङ्गीत र नृत्यसम्बन्धी ललितकलासम्बन्धी विभिन्न गतिविधिहरू गरिएको थियो । भारतका विभिन्न स्थानका ललितकलाकर्मी, लेखक, साहित्यकार, गायकलगायतको सहभागिता रहेको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कला, कलाको सामाजिक प्रभाव, नेपाल र भारतबिचको अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन कलाले खेलेको भूमिका, कलाको शैली, शिल्पको आदान–प्रदानलगायतका विषयमा बोल्दै उहाँले भन्नुभयो, ‘सभ्य समाज र सिर्जनशील नागरिक बनाउन कलाको विशिष्ट भूमिका रहन्छ, सामाजिक रूपान्तरण र परिवर्तनमा समेत कलाको अहं भूमिका हुन्छ । सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक भौगोलिक वातावरणका जगमा ललितकला अगाडि बढ्यो ।’ लामाले विभिन्न देवीदेवताका ती चित्रका पोस्टर, पोस्टकार्ड आदिको प्रभाव भारतलगायत त्यसका छिमेकी मुलुकमा समेत परेको बताउनुभयो । उहाँले थप्नुभयो ‘अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीहरू, तीर्थयात्री, गोर्खा सेनामा गएका नेपाली सपूतहरू आदिबाट भारतीय कला, शैली, शिल्पलगायतको नेपाली ललितकलामा पनि प्रभाव परेको बताउनुभयो । फेस्टिबलमा नेपालबाट कलाकार एनबी गुरुङको समेत सहभागिता रहेको थियो । कार्यक्रम माघ १४ गतेसम्म चल्ने छ ।