नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागको आयोजना र शिक्षा तथा संस्कृति प्रवर्धन केन्द्र कपिलवस्तुको संयोजनमा आइतबारबाट सुरु भएको ‘अवधी लोककला गोष्ठी र प्रशिक्षण’ कार्यक्रम मङ्गलवार (२०८१ वैशाख १८ गते) सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले अवध क्षेत्रका परम्परागत ज्ञान तथा कलालाई नयाँ पिँढीमा पुस्तान्तरण गर्नका लागि यस कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानले देशका मौलिक कलाको खोज, अनुसन्धान गर्दै यसको प्रवर्धनमा सक्दो सहयोग गर्छ । स्थानीय तहले पनि यस्ता कार्यक्रमलाई गाउँ गाउँमा पु¥याएर पुनर्जागरण गर्नुपर्छ ।’ अवधी साहित्य समाजका अध्यक्ष युवराज गुप्ताले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नुभयो । दलित सामाजिक विकास केन्द्र कपिलवस्तुका निर्देशक गोविन्द धवलले प्रशिक्षार्थीले बनाएका कलामा संस्कृतिको मूल तत्त्व स्पष्ट देखिएको बताउँदै त्यसको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । नव कपिलवस्तु साहित्य समाजका सल्लाहकार चन्द्र शाक्यले लोककला हराउने क्रममा रहेकाले यसलाई जीवन्त राख्न सबैले प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँघरमा भएको असली परम्परागत लोककलाको संरक्षण गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।’ शिक्षा तथा संस्कृति प्रवर्धन केन्द्रका उपाध्यक्ष प्रकाशलाल श्रीवास्तवले प्रत्येक वर्ष यस्ता कार्यक्रम गर्न आवश्यक भएको धारणा राख्नुभयो । एचडी मेमोरियल स्कुलका प्रिन्सिपल गणेशलाल कर्णले विद्यालयस्तरमा पनि यस्ता कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीहरूलाई पनि आफ्नो समुदायको हरेक चाडहरूसँग सम्बन्धित ज्ञान दिई यसको प्रचार–प्रसार गर्नुपर्ने देखिन्छ ।’ लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले नयाँ–नयाँ संस्कृति अँगाल्ने तर आफ्नोपन भुल्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस कार्यक्रमले प्रतिभा प्रस्फुटनसँगसँगै सांस्कृतिक पहिचानको विषयलाई उठाएको छ, म धन्यवाद दिन चाहन्छु ।’
समापन समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो । प्रशिक्षार्थीहरूलाई अग्रज कलाकार रामदयाल ठाकुर र बालगोविन्द त्रिपाठीले क्रमशः मुख्य प्रशिक्षक, सहायक प्रशिक्षकका भूमिकामा रहेर प्रशिक्षण दिनुभएको थियो ।