नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा बुधवार(२०८१ मङ्सिर ५ गते )बाट ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ सुरु भएको छ । कार्यक्रमको प्रतिनिधिसभा सदस्य रघुजी पन्त, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । प्रतिनिधि सभा सदस्य पन्तले यस्ता कार्यक्रममार्फत कला, संस्कृतिको आदान–प्रदान हुने विचार व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमले ७ वटा देशका कलाकारसँग साक्षत्कार गर्ने अवसर दिनुका साथै कला, संस्कृतिको आदान–प्रदानमा सहयोग गरेको बताउनुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले कलाको कुनै सिमा नहुने बताउँदै ७ देशका कलाकारहरूको कला प्रदर्शनीले एक आपसमा कला,संस्कृतिको आदानप्रदानमा सहयोग गरेको धारणा राख्नुभयो ।श्रीलङ्काका कलाकार महेस चतुर्रङ्ग एकनायकेले नेपाल आएर कला प्रदर्शनीमा सहभागी हुन पाएकामा आयोजकप्रति आभार व्यक्त गर्नुभयो । बङ्लादेशकी कलाकार रुविना नार्गिसले यस कार्यक्रममा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताउनुभयो । सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टसका अध्यक्ष अरूप चन्द्रले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा यस कार्यक्रम गर्न पाएकामा धेरै खुसी लागेको बताउनुभयो । प्रदर्शनीमा नेपालसँगै भारत, श्रीलङ्का, मौरिसस, बङ्गलादेश, स्पेन, अर्जेन्टिनाका ७५ कलाकारका १५० भन्दा बढी कलाकृति समाविष्ट गरिएको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदिप अधिकारी, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङसँगै कलाकारहरूको उपस्थिति रहेको थियो । प्रदर्शनी मङ्सिर ७ गतेसम्म चल्ने छ ।