नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतको संयुक्त आयोजनामा बुधवारबाट सुरु भएको ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी तथा कार्यशाला’ शुक्रवार (२०८१ मङ्सिर ७ गते) सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाललाई माया गरेर यस कार्यक्रममा सहभागी हुनुभएका कलाकारहरूप्रति आभार व्यक्त गर्नुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कलाले विभिन्न देशलाई जोड्ने काम गरेको बताउनुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले आगामी दिनमा पनि नेपाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय कला प्रर्दशनीमा सहभागिताका लागि पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्नुभयो । सोसाइटी फर प्रवल प्रमानिक्स एकेडेमी अफ आर्टस्, भारतका अध्यक्ष अरूप चन्द्रले प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि अन्य कार्यक्रम गर्ने बताउनुभयो । कार्यशालामा कलाकारहरूले ५० भन्दा बढी कलाकृतिहरू सिर्जना गर्नुभएको थियो । प्रदर्शनीमा नेपालसँगै भारत, श्रीलङ्का, मौरिसस, बङ्गलादेश, स्पेन, अर्जेन्टिनाका ७५ कलाकारका १५० भन्दा बढी कलाकृति समाविष्ट थिए । समापन समारोहमा प्रदर्शनी तथा कार्यशालामा सहभागी कलाकारहरूलाई प्रमाण–पत्रसमेत प्रदान गरिएको थियो ।