नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानको आयोजनामा अग्रज कलाकार हरेराम जोजुसँग ललितकला संवाद कार्यक्रम सोमवार (२०८१ असार १७ गते) सम्पन्न भएको छ ।२०२० सालमा रानीपौवा, पोखरा कास्कीमा जन्मिनुभएका जोजुले ललितकला क्याम्पसबाट स्नातक गर्नुभएको छ ।
सो कार्यक्रममा उहाँले आफ्नो कलायात्राका बारेमा जानकारी गराउँदै कलाका विधि आयामका बारेमा चर्चा गर्नुभयो । उहाँले पोखराको कला इतिहासको चर्चा गर्दै नेपाली कलामा यसको ऐतिहासिक महत्त्व रहेको बताउनुभयो । कलाकार जोजुले प्रतिष्ठानले यस किसिमको कार्यक्रमको आयोजना गर्नु कलापारखी, कलाकार, कलासाधकका लागि कला सिर्जनामा एक आयम रहेको बताउनुभयो । उहाँले न्युरो आर्ट र अल्कोहलिक आर्टका बारेमा चर्चा गर्दै यी कलामार्फत कलाकारमा नयाँपन ल्याउन सक्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘मनको पीडा, दुःख, सुख, आदि पक्ष न्युरो आर्टमा आउँछ ।’
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ललितकला संवाद एक प्राज्ञिक कार्यक्रम भएको बताउँदै आफ्ना अनुभव र नयाँ अनुसन्धानका विषयमा जानकारी गराएको बताउनुभयो । उहाँले न्युरो आर्ट र अल्कोहलिक आर्ट मानव समुदायका निम्ति नयाँपन दिने खालको रहेको जनाउँदै कलाकार जोजुको अभियान सराहनीय भएको विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानका सदस्य–सचिव थुम्केलीले अग्रज कलाकार जोजुको कलायात्राका बारेमा परिचर्चा गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्र थुम्केली, प्राज्ञपरिषद सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, अरुणा हिङमाङ तथा प्राज्ञसभा सदस्य झिग्मे लामा, प्रदिप शाक्य, ललितकला मञ्च नेपालका अध्यक्ष दिवेश प्रधान, आइडब्लुएस नेपालका अध्यक्ष एन. वि. गुरुङलगायतको उपस्थिति रहेको थियो ।