नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठान र मैथिली विकास कोषको आयोजना र जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा–प्रतिष्ठान र राजर्षिजनक विश्वविद्यालयको सहकार्यमा ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही आइतबार (२०८२ माघ २५ गते ) बाट ‘मधेश प्रादेशिक ललितकला प्रदर्शनी– २०८२’ मैथिली भवन, जनकपुरधाम, धनुषामा सुरु भएको छ । प्रदर्शनीको मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख एवं मधेश प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङले प्रदर्शनीमा मधेश प्रदेशका कलाकारले सिर्जना गर्नुभएका लोककला, मूर्तिकला, चित्रकला, शिल्प–हस्तकला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधा–उपविधाका कलाकृतिहरू राखिएको बताउनुभयो । साथै कार्यक्रममा ललितकला क्षेत्रमा योगदान पु¥याउनुहुने कलाकारहरू जगतारण देवी दास, रुवीदेवी पाठक, गायत्री कर्ण र विजय मण्डललाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अलि अन्सारी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राजर्षिजनक विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन डा. विनोद साह, राजर्षिजनक विश्वविद्यालयका प्रा.डा. राम खेलावन शाह, डा. सरोज कुमार ठाकुर, प्राज्ञ सीतादेवी कर्ण, प्राज्ञ रमेश रञ्जन झाका साथै कलाकार, पत्रकार, विद्यार्थी आदिको सहभागिता रहेको थियो । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी २९ गतेसम्म चल्ने छ ।

Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.