सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति कञ्चनपुर र कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा बिहीबार(२०८२ माघ २२ गते)बाट ‘सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र कैलाली बहुमुखी क्याम्पसका प्रमुख लोकबहादुर विष्टले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, परम्परागत चित्रकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विधाका कलाकृतिलाई राखिएको प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख र सुदूरपश्चिम प्रदेश समन्वय समिति संयोजक प्रदीप अधिकारीले बताउनुभयो । कार्यक्रममा थारु कल्याणकारी सभा जिल्ला कार्यसमिति कञ्चनपुरका सभापति सानु चौधरीसँगै कलाकार, विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ २६ गतेसम्म चल्ने छ ।

