नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधवार (२०८२ मङ्सिर २४ गते ) प्रतिष्ठानमा ‘कला पत्रकारिताका अवस्था र चुनौती’ विषयक कार्यक्रम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लेखक/पत्रकार नारायण ढुङ्गानाले ‘कला पत्रकारिताका अवस्था र चुनौती’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि पत्रकार सुशिला तामाङले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको विषयमाथि जगत् वाशिष्ठ, दिवेशमान सिंह प्रधान, ओमप्रकाश घिमिरे, डिल्ली आचार्य, मधु शाही, चाँदनी हमाललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको गतिविधिलाई स्थानीय तवरबाटै सक्षम र सशक्त बनाउन कला पत्रकारिताको भूमिका अहं रहने बताउनुभयो । उहाँले प्रतिष्ठानले कला खोज, अनुसन्धान, सम्मान, पुरस्कारलगायतका क्षेत्रमा आफ्नो क्षमतानुसारको काम गरिरहेको धारणा राख्नुभयो । हार्तम्छालीले सामाजिक, सांस्कृति रूपान्तरणमा कलाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसबारेको सम्प्रेषण गर्नु र यस क्षेत्रका समस्याको समेत खोजी गर्नु कला पत्रकारको दायित्व भएको उल्लेख गर्नुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकला संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको र यसको आयामलाई जनस्तर एवं विश्वमा फैलाउनु आजको आवश्यकता भएकाले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नारायण ढुङ्गानाले कला पत्रकारिताको सुरुवाती, विगत र वर्तमान अभ्यासको चर्चा गर्दै यसका अवस्था, चुनौती र यसको विकास, प्रवर्धनमा गर्नुपर्ने कार्यका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो । साथै उहाँले समाजमा कलाको गतिविधिलाई बढावा दिन सबै क्षेत्र र सरोकारी निकाय लाग्नुपर्नेमा जोड दिनुभयो । पत्रकार सुशिला तामाङले कला पत्रकारिताको क्षेत्रको अवस्था, कोभिड–१९ पछि अवधिमा कला बिटलाई पत्रकारिताले दिएको स्थान, यस क्षेत्रमा महिला पत्रकारले दिएको योगदान तथा  ललितकला पत्रकारितालाई व्यवस्थित ढङ्गबाट सक्षम र सशक्त बनाउन राज्यबाट नीतिगत तहमै पहलको आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकार, विद्यार्थी तथा विभिन्न सङ्घ सस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Developed by : Prosys Solution - © 2025 Nepal Academy of Fine Arts All Rights Reserved.