नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनीको तयारी, कला र कलाकार सर्वेक्षण, प्रादेशिक तथा राष्ट्रिय ललितकलामा पुरस्कृत कलाकृतिको डिजिटल प्रदर्शनी, प्रदेश तथा स्थानीय तह र विभिन्न समुदायमा रहेका कला र कलाकारको पहिचान तथा तिनको महत्त्वलाई उजागर गर्न अन्तरक्रिया र गोष्ठीसँगै कार्यशालासमेत गरिरहेको छ । यही सन्दर्भमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा स्याटर्डे प्लेन एअर हेटौँडा शाखा र मकवानपुर हस्तकला सङ्घको आयोजना तथा लायन्स क्लब अफ हेटौँडा, न्यु रेन्वो आर्ट ग्यालरी, विश्व आर्ट र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सहयोगमा शुक्रवार (२०८२ मङ्सिर ५ गते) लायन्स क्लब अफ हेटौँडा, कर्रा, हेटौँडा–९ मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ललितकला र यसका महत्त्वका विषयमा गरिएको अन्तरक्रियामा प्रतिष्ठानका सदस्य सचिव देवेन्दकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानको उद्देश्य, गतिविधि र योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा उहाँले प्रतिष्ठानले देशभरि गरेका चित्रकला, मूर्तिकला, लोककला, शिल्प–हस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवर्धन र विकास गर्ने लक्ष्यका साथ गतिविधि गरिएको बताउनुभयो । प्रतिष्ठानको टोलीमा सदस्य सचिव देवेन्दकुमार काफ्ले ‘थुम्केली’, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी र शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ रहनुभएको छ । सो छलफलमा स्याटडे प्लेन एअरका केन्द्रीय सचिव दिवेश प्रधानले ललितकलाको महत्त्व र स्याटडे प्लेनले गरिरहेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै सो कार्यक्रममा मकवानपुर हस्तकला सङ्घका अध्यक्ष रेशमराज बज्राचार्यले प्रतिष्ठानसँग सहकार्य गरेर आगामी दिनमा कार्यक्रम गर्ने बताउनुभयो कलाकारको सहभागिता रहेको थियो ।
साथै, २०८२ मङ्सिर ६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा स्याटर्डे प्लेन एअर हेटौँडा शाखा र मकवानपुर हस्तकला सङ्घको आयोजना तथा लायन्स क्लब अफ हेटौँडा, न्यु रेन्वो आर्ट ग्यालरी, विश्व आर्ट र रोट्रयाक्ट क्लब अफ मकवानपुरको सहयोगमा शनिवार बुद्धचोक, हेटौँडा–१० मा एक दिवसीय स्थलगत चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा २० जना कलाकारको सहभागिता रहेको थियो ।