नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य र एपेक नेपालको आयोजनामा शनिवार (२०८२ कार्तिक १५ गते ) इटहरीमा ‘एपेक राष्ट्रिय काव्य महोत्सव–२’ सम्पन्न भएको छ । कार्यक्रममा १४ जना कविका कवितामा आधारित भई १४ जना कलाकारहरूले कलाकृति सिर्जना गर्नुभएको थियो । एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठका अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि रहनुभएको थियो भने विशेष अतिथिहरूमा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य मा.मिना श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक संजय वान्तवालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले साहित्य र ललितकला क्षेत्रका कार्यक्रमहरूलाई यसै वर्षदेखि अझ प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो । एपेक नेपालका महासचिव राजेन्द्र सलभले कला–साहित्यको योगदानलाई सराहना गर्दै सबै सहभागीप्रति आभार व्यक्त गर्नुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तावाले कविता र चित्रकलालाई संयोजन गर्ने अवधारणा फरक र सिर्जनशील रहेको बताउनुभयो । कार्यक्रममा नारदमणि हार्तम्छाली, संजय वान्तावा, गणेश लामा, अनुराधा थापा, विक्रम श्री, यशोदा सिंह, शिव छाङ्छा राई, तिलक राई, युवराज रिजाल, डिल्लीकृष्ण आले, सुशन धिमाल, महेन्द्र राई र जे.पी. चौधरीले सिर्जना गर्नुभएको कलाकृतिको प्रदर्शनीसमेत गरिएको थियो ।
Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.