नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा कार्टुन विधामा लामो समयदेखि योगदान दिएका ५ जनालाई सोमवार (२०८२ श्रावण २६ गते) ‘बराथा स्मृति सम्मान’ प्रदान कार्यक्रम सम्पन्न भएको छ । व्यङ्ग्यचित्रकार बलराम थापा ‘बराथा’ का नाममा स्थापित सो सम्मान नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारणमणि हार्तम्छालीले सोमबार एक समारोहका बिच प्रदान गर्नुभयो । सम्मानित हुनेमा अग्रज व्यङ्ग्यचित्रकार अशोकमान सिं, जीवन राजोपाध्याय, रविन सायमी, राजेश केसी र अविन श्रेष्ठ हुनुहुन्छ । सिंहलाई बराथा स्मृति सम्मान २०७७, राजोपाध्यायलाई बराथा स्मृति सम्मान २०७८, सायमीलाई बराथा स्मृति सम्मान २०७९, केसीलाई बराथा स्मृति सम्मान २०८० र श्रेष्ठलाई बराथा स्मृति सम्मान २०८१ प्रदान गरिएको हो ।
सो कार्यक्रममा कुलपति हार्तम्छालीले कार्टुनिस्टहरूको साझा समूह नेपाल कार्टुनिस्ट क्लबले गरेको यस प्रकारको कार्यले कलाकारमा सकारात्मक ऊर्जा भर्ने बताउनुभयो । उहाँले कार्टुन विधालाई ललितकला प्रज्ञा–प्रतिष्ठानले कलाको एक उपविधाका रूपमा स्थान दिँदै कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो । सम्मानित कलाकार अशोकमान सिंले आफ्नो ५० वर्षको कलायात्रामा यो सम्मान महत्त्वपूर्ण रहेको बताउँदै कार्टुन विधाको उन्नयनका लागि प्रेरणा र ऊर्जा मिलेको बताउनुभयो ।
अर्का सम्मानित कार्टुनिस्ट जीवन राजोपाध्यायले कार्टुन विधामा धेरै अघिदेखि लागिपरेको तर बिचमा कलाको अन्य विधामा लागेको भए तापनि क्लबको कार्यक्रमहरूले भने सधैँ कार्टुन विधासँग नजिक बनाउन मद्दत मिलेको बताउनुभयो । सम्मानित कार्टुनिस्ट रविन सायमीले कार्टुनिस्ट क्लबप्रति आभार व्यक्त गर्दै सम्मानले नयाँ ऊर्जा मिलेको जानकारी दिनुभयो । सो कार्यक्रममा कार्टुनिस्ट अविन श्रेष्ठले आफ्नो कार्यकालबाट अग्रजहरूलाई सम्मान गर्नुपर्छ भनेर सुरु गरिएको परम्परामा आफू पनि हिस्सा बन्न पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो ।
कार्यक्रममा सम्मानित कार्टुनिस्ट छनोट समितिका सदस्य केशवराज खनालले विगत १२ वर्षदेखि क्लबले हरेक वर्ष सो सम्मान प्रदान गर्दै आएको बताउनुभयो । उहाँले सम्मानित कार्टुनिस्टको सङ्क्षिप्त परिचय दिँदै छनोट प्रक्रियाका बारेमा जानकारी दिनुभयो । क्लबका अध्यक्ष बासु क्षितिजले आफ्ना अग्रजहरूलाई सम्मान गर्दा आफै सम्मानित भएको अनुभव सुनाउँदै नेपाली कार्टुन विधालाई प्रत्यक्ष र परोक्ष रूपमा लामो समयदेखि योगदान दिएका अग्रजको सम्मानले नयाँ पुस्तालाई अझ अघि बढ्न मार्गनिर्देश गर्ने बताउनुभयो ।