नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल हस्तकला कालीगढ सङ्घको आयोजनामा बिहीबार (२०८१ फागुन १५ गते ) ‘हस्तकलाको संवर्धन र व्यावसायीकरणमा राज्यको दायित्व ’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले हस्तकलाकर्मी राज्यद्वारा प्रदत्त सुविधाबारे सजग हुँदै कलाकर्ममा लाग्नुपर्ने बताउनुभयो । उहाँले नीतिगत समस्यालाई समाधान गर्दै सिर्जनशील उद्योगका रूपमा रहेको हस्तकलाको ज्ञानपरम्परालाई शिक्षासँग जोड्दै पाठ्यक्रममा समावेश गर्ने र अभिलेखीकरण तथा संर्वद्घन गर्दै पुस्तान्तरणका लागि ठोस कार्य बढाउनु आवश्यक रहेको धारणा राख्नुभयो । परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले कलाकर्मीमा नीतिगत ज्ञानको अभाव तथा राज्यद्वारा प्रदत्त सेवा–सुविधाबारे ज्ञान नहुँदा उत्पादित सिर्जनाको बजार व्यवस्थापनमा समस्या झेल्नुपरेको बताउँदै आन्तरिक बजारलाई बढावा दिन जरुरी रहेको धारणा राख्नुभयो । हस्तकला महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले समग्र कला र कलाकारको हितका लागि काम गर्ने संस्था एक हुन आवश्यक रहेको बताउँदै साझा उद्देश्यका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो । दीप विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोजदिलु विश्वकर्माले ‘मौलिक हस्तकलाको संवर्धन र व्यावसायीकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूसँगै हस्तकला महासङ्घ, नेपाल हस्तकला कालीगढ सङ्घ तथा यस क्षेत्रसँग सरोकार राख्ने विभिन्न कलाकार, व्यक्ति तथा सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Developed by : Prosys Solution - © 2025 Nepal Academy of Fine Arts All Rights Reserved.