नेपालमा हालसम्म लिच्छविकालतिरको चौथौं शताब्दीसम्मको मूर्तिहरु मात्र फेला पर्न सकेको भए तापनि नेपाली कलाको इतिहास नेपाली संस्कृति जत्तिकै पुरानो हुन सक्ने देखिन्छ । लिच्छविकाललाई कलाको दृष्टिकोणले स्वर्णिम कालको रुपमा लिने गरिन्छ । त्यस कालका अद्वितीय कलाकृतिहरुको परख गर्ने हो भने नेपाली कलाको इतिहास अझ पुरानो हुनसक्ने कुरामा कुनै शंका रहँदैन । प्रज्ञापारमिताको पाण्डुलिपिमा अङ्कित चित्र नै नेपालमा हालसम्म पाइएको सबभन्दा पुरानो चित्र हो भन्ने प्रमाणित भए तापनि सातौं शताब्दीतिरका चिनियाँ यात्रीको यात्रावृत्तान्तमा काठमाण्डौ उपत्यकाका घरहरुमा सुन्दर भित्तेचित्रहरु रहेका छन् भनेर उल्लेख गरिएको पनि हामी पाउँछौं । हाम्रो संस्कृति हाम्रो सभ्यता जत्तिकै पुरानो छ र हाम्रो कला पनि हाम्रो संस्कृतिकै अभिन्न अङ्गको रुपमा रहिआएको छ । मूर्तिकला, संगीत, चित्रकला, प्रस्तुतिकला र इन्टलेशन कला आदिको रुपमा हाम्रा रीतिरिवाज तथा जात्रापर्वहरुले कलाका विभिन्न विधाहरुलाई समेटेको देखिन्छ । त्यस कालमा कला कलाको लागि मात्र नभई मानव जीवनको लागि समेत अपरिहार्य तत्व थियो । कलामा आध्यात्मिक महत्व मात्र नभई व्यवहारिक उपयोगीता पनि रहेको हुन्छ । यस कुराको दृष्टान्त मिथिला कला जस्तो विधामा आज पनि देख्न सकिन्छं । 

नेपाली कलाले आफ्नो विकासक्रममा विभिन्न चरणहरु पार गर्दै आएको छ । कालक्रममा कलाले धार्मिकबाट लौकिक, वस्तुगतबाट विषयगत, बाह्यबाट आभ्यन्तर, अन्यबाट आफूतिर, सन्दर्भगतबाट अमूर्त आदि विविध स्वरुप ग्रहण गर्दै गइरहेको हामी पाउँछौं । प्राचीन कला र वास्तुकला प्रतीकात्मक थिए । तिनमा एउटा कुरा अङ्कित भए तापनि तिनले अर्कै कुरा प्रकट गरिरहेको हुन्थ्यो । ’em शिक्षाप्रद पनि थिए अर्थात् तिनले समाजमा नैतिक ज्ञानको प्रसार गर्दथे । ’em धार्मिक प्रकृतिका भएका हुनाले ’em रहस्यमय र जादुमय पनि हुन्थे । मृत्युशैय्यामा रहँदा पनि देवदेवी तथा मानव आकृतिहरुलाई यौवनमय देखाइन्थ्यो । देवमूर्तिहरुलाई पनि मानवीय स्वरुपमा र मानवीय संवेदनाहरु अभिव्यक्त गरिरहेको भावमा देखाइएका छन् । पाण्डुलिपिमा अङ्कित चित्र, पौभा, मण्डला, पाटा (बेरुवा चित्र) तथा भित्ते चित्रहरु नेपाली चित्रकलाका प्राचीन स्वरुपहरु हुन् । त्यस्तै नेपाली छाने÷तले शैलीका मन्दिर, शिखर शैलीका मन्दिर, स्तुप, विहारहरु वास्तुकलाका उदाहरणहरु हुन् । 

राणाकालमा धार्मिक विषयलाई लौकिक विषयले, प्रतीकात्मकतालाई यथार्थवादीताले र घरेलु रङलाई तैलीय रङले विस्थापन ग¥यो । देवदेवीका भन्दा पनि राणा शासक तथा तिनका परिवारका सदस्यहरुको छायाँचित्र बढी बनाउन थालियो । यस कालमा नेपाली कलाको इतिहासमै छायाँचित्र बनाउने कला उत्कर्षमा पुगेको थियो । शिकारका दृश्य भएका ल्याण्डस्केप तथा स्टिल लाइफ चित्रकला पनि थुप्रै सृजना गरिए । यसै बेला पश्चिमी नियोक्लासिकल वास्तुकलाको प्रभाव नेपाली वास्तुकलामा पनि पर्न गयो । 

इस्वी संवत् १९५१ मा नेपालमा राणाकालको अन्त्य र प्रजातन्त्रको उदयसँगै देशभित्र र देशबाहिर बढेको मानिसहरुको आवागमनले नेपाली कला जगत्मा थुप्रै पश्चिमी प्रभावहरु भित्र्यायो । बिस्तारै नेपाली कलाकारहरुमा प्रभाववाद ९क्ष्mउचभककष्यलष्कm०, फबिजम, अभिव्यक्तिवाद, क्युबिजम, डडाइजम, अमूर्तवाद तथा अतियथार्थवाद आदि शैलीहरुको अभ्यास गर्ने प्रवृत्ति देखिन थाल्यो । कलाको धार यथार्थवादीबाट अमूर्ततातिर, सार्वजनिकबाट व्यक्तिगततिर, वस्तुगतबाट विषयगततिर ढल्किन थाल्यो । नेपाली कलाकारहरु बाह्य वस्तु तथा घटनाक्रमहरुलाई भन्दा आफूभित्रको भाव प्रकट गर्नेतिर बढी अभ्यस्त हुन थाले । 

आजका नेपाली कलाकारहरु आफ्नो परम्पराको साथसाथै विश्वमा जन्मिरहेको कलाका नवीन प्रचलनहरुको विषयमा जानकार छन् । तिनले विगतबाट सिकेका छन् र वर्तमानलाई आत्मसात गरेका छन् र आफ्नै भित्री आवाजलाई सुन्दै, आफ्नै सूत्रहरुको विकास गर्दै र अवचेतनमा आफ्नो छाप छोड्दै घोकन्ते नियमहरुलाई बिर्सने प्रयास गरेर आफूले सिकेका कुराहरुलाई सूत्रबद्ध गर्नेतिर लागिरहेका छन् । आफ्नै आवाजलाई सुन्नु र आफ्नै दृश्यपरक भाष्यमा आफूलाई अभिव्यक्त गर्नु नै कला सृजनाको उत्कृष्ट विधि हो ।