नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवारबाट सुरु भएको ‘राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२’ मङ्गलवार (२०८२ भदौ १७ गते) पनि जारी रह्यो । कार्यक्रममा भीमनाथ रेग्मीले ‘समाज निर्माणमा कला : काठमाडौँ उपत्यकामा दृश्य कलाको प्रभाव’, एससी सुमनले ‘मिथिला लोककलाको सामाजिक–सांस्कृतिक महत्त्व’ र विक्रममणि त्रिपाठीले ‘अवधी लोककला’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ती कार्यपत्रमाथि क्रमशः अनुप सिं सुवाल, विष्णु ज्ञवाली, बालगोविन्द त्रिपाठीले टिप्पणी गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा धनमान सिंह हमालले ‘कर्णालीका लोककला’, इन्दु थारूले ‘थारू लोककला’ र ताराप्रसाद ओझाले ‘सुदूरपश्चिमको लोककला’ विषयमा प्रस्तुति दिनुभएको थियो भने समूहगत रूपमा समेत लोककला, कलाका विविध आयाम तथा क्षेत्रसँग सम्बन्धित विषयमा छलफलसमेत भएको थियो ।
कार्यक्रमका सभाध्यक्ष एवं वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले सम्मेलनमा लोककलाको पुस्तान्तरण, यस क्षेत्रमा भए–गरेका कार्य र त्यसको प्रभाव, लोककलाको विकासमा देखापरेका समस्या तथा चुनौतीहरू र यसको संरक्षण तथा विकासमा गर्नुपर्ने कार्यलगायतका विविध विषयमा छलफल भएको र त्यसबाट महत्त्वपूर्ण सुझावहरू आएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठान कुलपति, उपकुलपति, प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, अग्रज कलाकार, विभिन्न सङ्घ–संस्था/क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकार, पत्रकार, अनुसन्धातालगायतकोे उपस्थिति रहेको थियो । सम्मेलन १८ गतेसम्म चल्ने छ ।

