नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रवार (२०८२ मङ्सिर २६ गते) ‘रामानन्द जोशीः नेपाली कलाका उदीयमान दृष्टिहरू’ विषयक कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा सभाध्यक्ष, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख अतिथि रहनुभएको कार्यक्रममा प्रणवमान सिंह र दीपमाला महर्जनले कला विमर्श गर्नुभएको थियो भने उहाँहरूको प्रस्तुतिमाथि कलाकार मुकेश मल्लले टिप्पणी गर्नुभएको थियो ।
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रममार्फत जोशीलाई बौद्धिकता, प्राज्ञिकतामा विस्तृतमा जोडिएको बताउनुभयो । उहाँले कलाका सन्दर्भमा भारतमा सिकेको व्याकरणलाई नेपालीपनमा ढाल्न सक्नु नै जोशीको कलाको बौद्धिकता भएको बताउनुभयो । उहाँले सांस्कृतिक सभ्यता र कला पुँजीको रूपमा रहने बताउँदै ललितकलाको विषय जटिल भएको र यो शास्त्रमा कला पनि भएको हुनाले नयाँ पुस्तालाई मार्गनिर्देश गर्न रामानन्द जोशीको समग्र पक्षको अध्ययन गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले रामानन्द जोशी कलाकार मात्रै नभएर कला अभियन्तासाथै ललितकलाको संस्थागत रूपमा विकास गर्न छुट्टै संस्थाको विकास गरी लैजानुपर्छ भन्ने अग्रज तथा बहुआयामिक व्यक्ति भएको बताउनुभयो ।
प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवाले आधुनिक शैलीलाई पस्केर बिम्वहरू प्रयोगसँगै आध्यात्मिक रूपमा समेत कलाकारितालाई समावेश गर्न सक्ने कलाकार जोशी नयाँ सुरुवात गर्ने व्यक्तित्व भएको बताउनुभयो । उहाँले जोशीका विविध विषयलाई खोजी गरी आर्काइभ गरिनुपर्ने बताउनुभयो ।
त्यस्तै, प्रस्तुति तथा टिप्पणीका विषयमा नविन जोशी, प्राज्ञ रमेशनाथ खनाल, प्राज्ञ रतनकुमार राई, दिवेशमान सिंह प्रधानलगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, कलाकार, लेखक, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
 
Developed by : Prosys Solution - © 2025 Nepal Academy of Fine Arts All Rights Reserved.