नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना, विराटनगर महानगर प्रज्ञा–प्रतिष्ठानको सह–आयोजना तथा विराटनगर महानगरपालिकाको विशेष सहयोग, कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको सहयोगमा ‘कोशी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ बिहीबारबाट (२०८२ माघ २९ गते)सुरु भएको छ । कार्यक्रमको कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धानका आधारमा कलात्मकताको मूल्याङ्कन गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष विधागत रूपमा कलाकारहरूलाई सम्मान गर्दै आएको बताउनुभयो । उहाँले प्रादेशिक प्रदर्शनीले नव–कलाकारहरूलाई प्रोत्साहन र उत्साह प्रदान गरिरहेको उल्लेख गर्दै प्रविधिको प्रयोगले कलालाई अझ परिष्कृत र सशक्त बनाएको धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख तथा कोशी प्रदेश समन्वय समिति संयोजक संजय वान्तावाले सम्पूर्ण कलाकार, सहयोगी संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो । कार्यक्रममा विभिन्न वक्ताहरूले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कलाकारका तर्फबाट विक्रम श्री तथा समीक्षकका तर्फबाट मुकेश मल्लले कलाकारको पहिचान सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्दै नेपाली कला विश्वबजारमा आफ्नो अलग पहिचान बनाउन सफल भइरहेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा प्रदेशका अग्रज सर्जकहरू स्व.रणध्वज नेम्वाङ (पाँचथर), शिवनारायण पण्डित (सुनसरी), अगमलाल राजवंशी (झापा) तथा सुबोधचन्द्र दास ‘एस.सी. सुमन’ (मोरङ) लाई सम्मान गरिएको थियो । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो रहनुभएको थियो भने विशेष अतिथिका रूपमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको उपस्थिति रहेको थियो । कार्यक्रममा संयोजक प्राज्ञ सञ्जय वान्तावा र सह–संयोजक विवश पोखरेललगायत प्राज्ञ चन्द्र रानाहाछा, प्राज्ञ जीवनाथ पोखरेल, प्राज्ञ सरोजा खड्की, प्राज्ञ गङ्गा सुवेदी, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष गणेश लामा, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सदस्य प्राज्ञ अनुराधा थापा, समीक्षक मुकेश मल्ल र तीर्थ निरौलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विराटनगर महानगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेशराज सुवेदीले गर्नुभएको थियो ।
Developed by : Prosys Solution - © 2026 Nepal Academy of Fine Arts All Rights Reserved.