नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउन्डेसनको संयुक्त आयोजनामा हुने ‘काठमाडौँ ट्रिएनाले २०२६’ अन्तर्गतको संवाद शृङ्खलामा बुधवार (२०८१ मङ्सिर १९ गते ) THE WORLD IS NOT ENOUGH, An Artist Talk By Rashid Rana कार्यक्रम सम्पन्न भएको छ । कमलादीस्थित हिमालयन बैङ्कको अडिटोरियममा सम्पन्न कार्यक्रमको सहजीकरण Sophia L. Pande ले गर्नुभएको थियो ।
कार्यक्रममा पाकिस्तानी कलाकार रसिद राणाले आफ्ना केही नमुना कार्यहरू प्रस्तुत गर्नुका साथै कलाकर्मबारे विस्तृत रूपमा व्याख्या गर्नुभयो । विशेषतः पाकिस्तानको लाहोरमा जीवन बिताउँदा ताका देखेका भौतिक, सामाजिक, मनोवैज्ञानिक, समसामयिक तथा रहनसहनलगायतका विषयवस्तुलाई आफ्नो फोटोग्राफी कलामा प्रस्तुत गर्नुभएका राणाले प्रविधिमा आएको फड्कोले आफ्नो जीवनमा ठुलो परिवर्तन ल्याएको बताउनुभयो ।
सोक्रममा उहाँले चौबिस घण्टासम्म एकै डाइमेन्सनमा लगातार लिइएका तस्बिरहरूका कोलाज आर्टले बनेका इमेजरी कला, Re-ornamented Monument शीर्षकको जहाँगिरका दरबारका कलालगायतका अन्य कलासमेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारी, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईलगायतसँगै अन्य विभिन्न कलाकार, कला अनुरागी, पत्रकारहरूको उपस्थिति रहेको थियो ।