नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा ५ दिने सामा–चकेवा मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला बिहीवार (२०८२ कार्तिक १३ गते ) बाट सुरु भएको छ । मैथिली भवन जनकपुरधाममा भएको सो कार्यशालाको उद्घाटन गर्दै बेलायती अनुसन्धानकर्ता माइकल हटले मिथिला क्षेत्रको सांस्कृतिक गहिराइ र सामा–चकेवालगायतका पर्वले सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बताउनुभयो । उहाँले सामा–चकेवा पर्वको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने सम्भावना रहेको धारणा राख्नुभयो ।
कोषका सदस्य सचिव श्यामसुन्दर शशीले सामा–चकेवा पर्वको महत्त्व र ज्ञान परम्पराका बारेमा चर्चा गर्दै प्रतिष्ठान र कोषले मिथिला संस्कृतिको जर्गेना गर्ने लक्ष्यका साथ कार्यशाला गरेको बताउनुभयो । लेखक तथा कोषका सदस्य नित्यानन्द मण्डलले मिथिलाको सांस्कृतिक पर्व सामा–चकेवाले परिवार र समाजमा सामाजिक सम्बन्धलाई मजबुत बनाउन मद्दत पु¥याएको विचार व्यक्त गर्नुभयो । प्रशिक्षक तथा कलाकार रुवी पाठकले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्तिहरू मिथिलाको कलात्मकता र भावनात्मक सम्बन्धको प्रतीक भएको उल्लेख गर्नुभयो । पाठकले कार्यशालामा स्थानीय कलाकार र विद्यार्थीलाई सामा–चकेवासम्बन्धी मूर्तिकलाको सांस्कृतिक तथा व्यावहारिक प्रशिक्षण दिइने जानकारी गराउनुभयो ।
कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै कार्यशालामार्फत पुस्तान्तरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले गतवर्षदेखि थालिएको कार्यशालामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले महत्त्वपूर्ण साथ र सहयोग गरेको सुनाउँदै सामा–चकेवा पर्वमा बनाइने कलाले मिथिलाको पहिचानलाई विश्वमा चिनाउने धारणा व्यक्त गर्नुभयो । चौधरीले भन्नुभयो, ‘मिथिलाको लोक संस्कृतिका रूपमा रहेको सामा–चकेवालाई जीवन्त राख्नका लागि कार्यशाला गरिएको हो । साथै कार्यशालामार्फत युवा पुस्तामा मूर्तिकलाको सिप हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।’
उहाँले कार्यशालामा सामा–चकेवा पर्वको सांस्कृतिक महत्त्व, कलात्मक पक्ष र नयाँ पुस्तालाई परम्परागत कला र संस्कृतिसँग कसरी जोड्ने विषयमा छलफलसमेत गरिने जानकारी दिनुभयो ।
कोषका सदस्य कुमार भाष्करले मैथिली समुदायको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको सामा–चकेवा पर्वसँग सम्बन्धित मूर्तिकलाको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने मुख्य उद्देश्य राखी कार्यशाला गरिएको बताउनुभयो । भाष्करले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा गरिएको कार्यशालाले मैथिली कला, संस्कृति र परम्परालाई राष्ट्रिय स्तरमा चिनाउन सकिएको जिकिर गर्नुभयो ।
उद्घाटन कार्यक्रममा मिथिला कलाकार सुधा कर्णले सामा–चकेवा पर्व र यसको महत्त्वका बारेमा चर्चा गर्नुभएको थियो । मूर्तिकला निर्माण कार्यशालामा २० जनाको सहभागिता रहेको छ । पाँच दिनसम्म चल्ने सो कार्यशालामा सामा–चकेवाका विज्ञका रूपमा कलाकार रुवी पाठक र विजय मण्डल रहनुभएको छ ।
यस्तै, कोषको आयोजनामा आइतबार जानकीमन्दिर प्राङ्गणमा सामा–चकेवा महोत्सव आयोजना गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उहाँले सामा–चकेवा खेलको संरक्षणका लागि प्रतियोगितात्मक महोत्सव गरिएको बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, ‘सामा–चकेवा केवल पर्व मात्र नभई यो हाम्रो सांस्कृतिक पहिचानको प्रतीक पनि हो । परम्परागत मूर्तिकला सिकेर युवाले संस्कृति जोगाउने र आत्मनिर्भर बन्ने बाटो समात्न सक्ने छन् ।’ कार्यशाला कार्तिक १६ गते समापन हुने छ ।
तस्विरः मैथिली विकास कोष

