नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटन कार्यक्रममा बुधवार (२०८१ चैत ६ गते) विशेष अतिथिका रूपमा सहभागिता जनाउनुभयो । मण्डला थिएटरमा आयोजित कार्यक्रममा उहाँले पहिचान, पहल र पहुँच (प–३) तथा सोख, लोक र भोकको त्रिआयामिक सन्तुलनलाई यस नाट्य विधा–विकासका क्षेत्रमा पनि अपनाई दिक्–काल र परिस्थितिअुनुसार चल्दै लोकल थ्रु सेन्ट्रल टु ग्लोबल र ग्लोबल थ्रु सेन्ट्रल टु लोकलको समायोजन पनि हुने गरी महोत्सवमा रैथाने विषयवस्तुको जनसंज्ञानात्मक कला नाट्य विम्बबारे विशेष डिस्कोर्स हुने आशा राख्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । हार्तम्छालीले ललितकलाको उपविधा, पर्फर्मेन्स आर्ट (प्रदर्शनकारी कला) प्रस्तुतिसँग जोडेर नाट्य विधाका आगामी कार्यक्रमहरूमा सहकार्य गर्दै जान सकिने कुरा पनि उल्लेख गर्नुभएको थियो ।