नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा साउथ एशियन इन्टरनेशनल आर्ट क्याम्प, नेपाल –२०१८ मा सृजित कलाकृतिहरुको प्रदर्शनी तथा साउथ एशियन इन्टरनेशनल आर्ट क्याम्पको औपचारिक समापन कार्यक्रम आज मिति २०७५ साल असार ३१ गते आइतबार नेपाल कला परिषद् बबरमहल, काठमाडौमा माननीय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीज्यूबाट भयो ।
सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका मन्त्री ज्ञवालीले दक्षिण एशिया सामाजिक सांस्कृतिक र कलात्मक हिसावले धनी रहेको बताउँदै कलाकारहरुको सृजनाले मनमा शान्ति मात्र प्रदान गर्ने नभई भावी पुस्तालाई समेत प्रेरणा समेत प्रदान गर्ने जनाउनुभयो । उहाँले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यशालामा कलाकारहरुको सहभागिता उहाँहरुको कडा मेहनत र समपर्णको उपज भएको बताउनुभयो । नेपाल सरकार कलात्मक सम्पदाहरुको प्रवर्दन गर्न नीतिगत तथा संस्थागत रुपमा नै लाग्ने बताउनुभयो । तीन वटा प्रज्ञा–प्रतिष्ठानहरु गाभ्ने निर्णयमा सरकारले पुनःविचार गर्ने र प्रतिष्ठानहरुको छुट्टाछुट्टै अस्तित्व रहनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सभापतित्व गर्नुभएका प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले यस प्रदर्शनीले देशको गरिमा बढाउन मद्दत गरेको बताउँदै यस्तो कार्यक्रम निरन्तर रुपमा रहने विश्वास व्यक्त गनुभयो । नेपाल खुल्ला संग्रहालयको रुपमा रहेको बताउँदै उहाँले यस्तो प्रदर्शनीले साउथ एशियाली देशहरुबीच राम्रो र निकट सम्बन्ध रहन सहयोग गर्ने जनाउनुभयो ।
क्याम्पको बारेमा प्रकाश पार्दै प्रतिष्ठानका सदस्य सचिव नवराज भट्टले यस्तो कला क्याम्पले देशहरुबीच कला आदान प्रदान गर्न सहयोग मिल्ने बताउनुभयो । यस्तो कार्यक्रम नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ३÷४ वर्षको अन्तरालमा गरिरहने बताउनुभयो । विभिन्न देशबाट आएका कलाकारहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । यस्तो प्रदर्शनीले देशको विकास र सम्बृद्धिमा टेवा पुगेको बताउँदै आगामी दिनमा अझ व्यवस्थित र वैज्ञानिक बनाउँदै र कार्यशाला तथा प्रदर्शनी आयोजना गर्दैै जाने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका उपकुलपति शारदा चित्रकारले प्रदर्शनी सफल पार्न सहयोग गर्ने सम्पूर्ण कलाकारहरु प्रति आभार व्यक्त गर्नुभयो ।
पहिलो साउथ एशियन अन्तर्राष्ट्रिय कार्यक्रमको समुद्घाटन यहि मिति २०७५ असार २७ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गर्नुभएको थियो । सो दिन कार्यशालमा साउथ एशियन देशका ६८ जना कलाकारहरुले कार्यशालामा कलाकृतिहरु तयार गरेका थिए । यही असार २९ गते पोखराको विश्व शान्ति स्तुपामा नेपाल बाहेकका १८ जना र नेपालका ४ जना गरी २२ कलाकारहरुले कलाकृतिहरु सृजना गरेका थिए । यसरी सृजित जम्मा ९० वटा कलाकृतिहरुको प्रदर्शनी असार ३१ र ३२ गते रहने छ । भने ३२ गतेदेखि नै साउथ एशियन देशका कलाकारहरु आ–आफ्नो देश फर्कने कार्यक्रम समेत रहेको छ ।