काठमाडौं, १२ जेठ –नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लोककला विभागको आयोजनामा करिब तीन दर्जन कलाकारका मिथिला लोककलाको शुक्रबारदेखि प्रदर्शनी मिथिला येँ आर्ट ग्यालरीमा गरिएको छ ।
पाँचदिने ‘लोककला प्रदर्शनी तथा संगोष्ठी २०७४’ मा धनुषाको जनकपुर र सिरहाको लहानमा विभागले २०७२÷०७३ सालमा गरेको कार्यशालामा तयार पारिएका कला प्रदर्शनीमा राखिएको लोककला विभागका प्रमुख एससी सुमनले बताए । सुमनले भने, ‘लोककलाको महत्वलाई समाजमा स्थापित गर्न र यसलाई सामाजिक रुपमा आम मानिसमा चासो बढाउनुपर्ने दायित्व प्रतिष्ठानसँग रहेको छ । अनुसन्धान तथा सशक्तिकरणका माध्यमबाट लोककलालाई समाजमा स्थापित गर्दै हाम्रो मौलिक पहिचानलाई चिनाउन र बचाउन प्रतिष्ठानले काम गरिरहेको छ । यही कडीका रुपमा यो प्रदर्शनी गरिएको हो ।’
प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले लोप हुन लागेको लोककलालाई बाहिर ल्याउन एकेडेमीले काम गरिरहेको बताइन् । उनले भनिन्, ‘लोककलालाई प्रवद्र्दन गर्दै आत्मनिर्भरमुखी बनाउन प्रतिष्ठानले सक्दो सहयोग गर्दछ ।’
नेपाली लोककलाको पहिचान र प्रवद्र्दन गर्ने हेतुले कार्यशाला गरिएको र त्यसमा रचना गरिएका कलाकृति प्रदर्शनीमा राखिएको प्राज्ञ रामपुजन ठाकुरले बताए । मिथिला कला आमा बजैबाट सिकेको बताउँदै प्राज्ञ सदस्य मिथिलादेवी यादवले भनिन्, ‘हामीले हाम्रो कल्चरबाट नै कला बनाउन सिकेका हौं ।’
प्रदर्शनीमा प्राज्ञ एससी सुमन सिरहा जिल्लाबाट प्राज्ञ रामपुजन ठाकुर, क्यूरेटर तथा कलाकार श्यामसुन्दर यादव, हरेराम यादव, अराधना चौधरी, गीताकुमारी ठाकुर, उर्मिलाकुमारी यादव, मान्तीकुमारी शर्मा, देव सुनैर देवी, बबिताकुमारी ठाकुर, उर्मिलाकुमारी ठाकुर, ममताकुमारी, शीलाकुमारी भण्डारी, सप्तरीबाट कमला सुतीहार, धनुषाबाट अजितकुमार साह, रन्जु यादव, चन्दा साह, सीतादेवी कर्ण, मदनकला कर्ण, मिथलेश्वरी देव कर्ण, अनुरागी देवी झा, फुलो साह, अनिता कर्ण, इन्द्रकला निधि, रेखा ठाकुर, सुलोचना कर्ण, पुनम दत्त, इन्द्र कर्ण, मुनी खातुन र रेणु कर्ण त्यस्तै महोत्तरीबाट सुनैना ठाकुर सप्तरीबाट सविता दास मोरङबाट मनारेमा कर्ण, मञ्जु कर्ण शिवानी सुमन माधवी कर्ण लगायतका कलाकार सहभागी भएकोे सुमनले जनाए ।
प्रदर्शनीले मैथिली महिला कलाकारलाई स्वाभलम्बी बनाउन मद्दत गरेको सहभागी कलाकार सुनैना ठाकुरले बताइन् । उनले भनिन्, ‘मिथिला कलाको सर्वप्राचीनतालाई कलाकारले हजारौं वर्षदेखि बचाइराखेका छन् । यसको सांस्कृतिक महत्वलाई राज्यले प्रभावकारी रुपमा संबोधन गर्दै आर्थिक विकासमा लगाउनुपर्दछ ।’
नेपालको मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मिथिला कलाले भूमिका खेलेको ग्यालरीका क्यूरेटर श्यामसुन्दर यादवले बताए । ‘प्रतिष्ठानले लोककलाको अध्ययन अनुसन्धान गरी प्रवद्र्दनात्मक काम गर्नुपर्दछ,’ यादवले थपे ।

त्यस्तै प्रदर्शनीकै क्रममा दोस्रो कार्यक्रम लोककलाका बारेमा संगोष्ठी गरिन लागिएको सुमनले बताए । जेठ १४ आइतबार सोही ग्यालरीमा ‘लोककला पहिचान तथा अवस्था विषयक संगोष्ठी २०७४’ हुँदैछ । सो संगोष्ठीमा डा. रामदयाल राकेश, मदन चित्रकार, मुकेश मल्ल, केशवराज खनाल, एससी सुमन, श्यामसुन्दर यादव लगायतका व्यक्तित्वले लोककलाका बारेमा परिचर्चा गर्नेछन् ।