मधेशमा कलाकारहरुको जमघट

काठमाण्डौमा बसेर चित्रकारिता मै रमाई रहेका करिव दुई दर्जन कलाकारको टोली विरगन्ज आइपुगेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको चित्रकला विभाग र उडान विङ्गस अफ आर्ट विरगन्जको आयोनजामा वीरगन्ज कला महोत्सव २०७५ शनिवार देखि वीरगन्जमा शुरु भएको छ । 
वीरगन्जको माइस्थानमा अवस्थित गहवा माइ मन्दिर परिसरमा सन्चालन भएको सामुहिक चित्रकला कार्यशालाको पहिलो दिन काठमाण्डौ र वीरगन्जमा बसेर चित्र बनाइरहेका कलाकारहरुले प्रत्यक्ष चित्र बनाए । 
मन्दिर परिसरमा कलाकारहरुको क्यानभासमा चित्रहरुले झकिझकाउ भएको छ । कोहि कुचि बोकेर दृष्य खोजिरहेका छन् त कोहि चुपचाप चित्रमा निहाली रहेका छन् । कुनै कलाकार कुनामा बसेर दृश्य चित्र कोरिरहेका छन् । के बच्चा के बृद्ध सवैलाई आर्टको यो महोत्सवले छोएको छ । प्लाष्टिक प्लेटमा अनेक थरि रंगका थुप्रा बोकेर चित्रकारहरु यताउता कुदिरहेका छन् । मध्य दिउसोको ३० ३२ सें. तातोलाईपनि पर्वाह नगरि अनेकथरि चित्रहरुले सुन्दर दृष्यहरुले शितल बनाइरहेको थियो । कसैलाई पनि गर्मीको महसुस थिएन । चित्रकारहरु को भन्दा को कमको दौडको रफ्तारमा कुचि चलाई रहेका थिए । यस्तो लाग्थ्यो सवैलाई एक से एक चित्र बनाउनु छ र मगंलबार हुने प्रदशनीमा सबैको स्यावासी पाउनु छ । 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुषमा राजभण्डारीले माईस्थान मन्दिरको गुम्वजलाई चित्रमा उतारिन् । कलाको विकास गर्नको लागी स्थापना भएको ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक प्रदेशमा स्थानिय कलाकारीताको पहिचानको लागी यो कार्यक्रम आयोजना गरिएको उनले बताइन् । जहाँ बसेर पनि आनन्दले काम गर्न सक्नु र आफुभित्रको सिर्जनशिलता लाई उतार्न सक्नु नै चित्रकारको शक्ति भएकाले हरेक कलाकारहरु लगनशिल हुनु पर्नेमा उनले जोड दिइन् । प्रदेश न. २ स्थानीय कला र भोजपुरी संस्कृतिमा धनि भएको बताउदै पछिल्लो १५ बर्ष यता कुनै पनि यस्ता कार्यक्रम नहुन दुखद भएको बताइन् । स्थानिय कलाकारलाई हौसला र साथ दिनको लागी पनि यस्ता कार्यक्रम उपयुक्त हुने उनको दावि थियो । 
बरिष्ठ कलाकार मुकेश मल्लले अमृर्त भावलाई चित्रमा कोरिरहेका थिए । चित्रलाई कलाकारको आखावाट भन्दा पनि भाव र सन्देशको आधारमा हेरिनुपर्ने उनको तर्क थियो । कलाकारीताकै विषयमा ११ वटा पुस्तक र दजनौ आलोचनात्मक टिप्पणी लेखिसकेका मल्ल नेपाल कला र संस्कृतिमा अत्यन्तै अव्वल रहेको बताए । 
स्थानीय चित्रकार मुकेश महतोले मधेशमा गलत रुपमा प्रयोग भएको दाइजा प्रथालाई क्यानभासमा उतारे । उनले मधेशमा छोरीहरु जन्मदा नै सामाजिक संस्कारको जन्जिर बाधिदिने कुप्रथाको विरोध स्परुप यो चित्र बनाएका हुन् । जहाँ एक युवती एउटा खुट्टाले स्कुल जादै छिन् त अर्को खुट्टामा पायल बाधिएको छ । 
विरगन्जका अर्को कलाकार स्याम श्रेष्ठले शान्तिको खोजीमा परेवा उडाइरहेको दृष्यलाई क्यानभाषमा उतारे । एक समय निकै चर्चित श्रेष्ठ डिजिटल आर्टको शुरुवात भएपछि केहि सुस्ताएका थिए । लामो समयपछि कला महोत्सवमा आएर कुचि चलाएका उनी निकै हसिलो मुद्रामा बुद्धलाई चित्रमा समेटिरहेका 
थिए । 
त्यस्तै स्थानीय नारायण लामाले पनि फुलको चित्र बनाउदै कुचि चलाइरहेका थिए । युवा अवस्थामा कलाकारीतामै लामो समय खर्चेका लामा पछिल्लो केहि बर्ष देखि निस्क्रिय प्राय थिए । आफ्नो आगनमै कला महोत्सव आयोजना हुदा उनी भने अहिले, पहिल्यै यस्तो कार्यक्रम भएको भए आफुले धेरै गर्न सक्ने बताृदै थिए । युवा वेलामा अनेक थरि चित्रकलाका स्वरुपहरु मनमा आउने गरेको र अभावले गर्दा भने जस्ता चित्र बनाउन नसकेको गुनासो पनि गरेका थिए । 
सेतो क्यानभासमा रातो रंगीचंगी कठपुतलाको चित्र बनाउदै गरेको भेटिए अजमत अलि अन्सारी । क्यानभासमा उनको कुचि यसरी दौडिरहेको थियो कि लाग्थ्यो उनी चित्रकलाकै हजारौ माइललको दौडमा प्रतिस्प्रधी छन् । उनी भर्खरै मात्रै बंगलादेशमा भएको आर्ट प्रदशनीमा सहभागी भएर फकेीदै थिए । बंगलादेशको भोजपुरी समाजमा कठपुतला भन्ने एउटा संस्कृति छ जो नाचगान र रंगरमाइलोसंग सवन्धित छ ।अन्सारीले खेलौनालाई नचाउने नाचको दृष्यलाई चित्रमा उतारे । 
यस्तै घडिअर्वा पोखरीमा पनि कलाकारहरुको बाक्लो चहलपहल देखिन्थ्यो । पोखरीको विचविचमा बनाइएको चौतारिमा आर्टिष्टहरु भेला भएर आफ्नै धुनमा कुचि चलाइरहेका थिए । काठमाण्डौवाट वीरगन्ज ओर्लेका दिपेन्द्र बनेपालीले विहानपख देखेको वीरगन्ज, घण्टाघर र रिक्सा, माइमन्दिरलाई चित्रमा समेटेका थिए । त्यस्तै विनोद कुमार गुप्ताले महाविर स्थानको पुरानो मन्दिरलाई क्यानभाषमा सजाए । वीरगन्जमा लोप हुने स्थितीमा रहेको महावीर मन्दिर र प्रकृतिको स्वरुपलाई उनले जिवन्त बनाएका हुन् ।
आकासी रंगको कमलको फुल बनाएर प्रकृतिलाई नै च्यालेन्ज गर्न लागीपरेकी थिइन जया शर्मा । डिवी राइले सम्पुण वीरगन्जलाई चित्रमा उतार्ने दुस्साहस गरे । रिक्सा, मन्दिर, टागाका दृष्यचित्र उनको क्यानभाषमा उत्रिएको थियो । 
कुनै थिममा मात्रै काम गर्न मनपराउने सुनिल कुसहवा बढ्दो शहरिकरणको भयावह दृष्य कोरिरहेका थिए । उच्च तापले परपर फुटेको माटो र सुकेर खङ्गरङ्ग भएको रुखले बढ्दो आधुनीकतालाइ गिज्याईरहेको थियो ।
मध्य दिउसोको माइमन्दिर परिसरलाई विेजोड चित्रमा उतारेका थिए सिर्जन राजभण्डारीले । प्रत्यक्ष दृष्यलाई निकै सरल र सुन्दर तरिकाले चित्रमा उतार्न खप्पिस सिर्जन चुपचाप कुचि चलाइरहेका थिए । हरेक कलाकार निकै मेहनतले आफ्नो कला देखाउन लागीपरेका थिए । 
यस्तै विराट श्रेष्ठ, सन्जय गिरी, चन्दा श्रेष्ठ, सुस्मा श्रेष्ठ,कान्छाकाजी भासिमा, सपना शाह, शंकरमान श्रेष्ठ लगायत महोत्सवको कार्यशालामा सहभागी थिए । पहाड मधेस आत्मियता र भाइचाराको सम्वन्ध रहेको बताउदै जहा बसेपनि हामीसंग आत्मियता भैरहनु पर्ने अधिकासं पाहुनाको भनाइ थियो । 
ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारी कै अध्यक्षतामा शनिवार भएको उद्घाटन कार्यक्रममा वीरगन्जका वरिष्ठ चित्रकार स्वर्गीय भरत प्रसाद सर्राफका छोरा कमलेश सर्राफ,वरिष्ठ चित्रकारद्वय श्याम श्रेष्ठ र नारायण लामालाइ दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।
उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान लगायतले कला महोत्सवको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए .