प्रथम साउथ एशियन आर्ट क्याम्प २०१८ को समुद्घाटन ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आज मिति २०७५ असार २७ गते कुपण्डोल, ललितपुरमा 1st South Asian Artists Camp Nepal- 2018 को समुुघाटन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं प्रतिष्ठानका संरक्षक रविन्द्र अधिकारीले गर्नुभयो ।
सो अवसरमा मन्त्री अधिकारीले नेपाल कला संस्कृतिको धनी भएको बताउँदै कलाको माध्यमबाट देश सम्वृद्ध हुन सक्ने चर्चा गर्नुभयो । उहाँले साउथ एशियन आर्ट क्याम्पले सबै देशका कलाकारहरुको कला आदान प्रदान भई भाइचाराको सम्बन्ध विकास हुन सक्ने बताउनुभयो ।प्रतिष्ठानका कुलपति एवं सो समारोहका सभापति रागिनी उपाध्यायले साउथ एशियन कला आयोजना गर्न लाग्नुहुने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्तो कार्यक्रम चार वर्षको अवधिमा कम्तीमा पनि एकपटक हुनै पर्ने र यसले सबै देशहरुबीच एकताको भावना बढाउन मद्दत मिल्ने बताउनुभयो । लामो समयको प्रतिक्षापछि कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्द उहाँले कलाको माध्यमबाट आर्थिक विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा दक्षिण एसियाली देशहरु भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, अफगानिस्तानका देशबाट १९ जना तथा नेपालका ४५ जना कलाकारहरुले कलाकृतिहरु सृजना गर्ने तथा ति कलाकृतिहरुको प्रदर्शनी यही २०७५ जेठ ३१ गते नेपाल कला परिषद् बबरमहलमा हुने जानकारी सदस्य सचिव नवराज भट्टले गराउनुभयो । उक्त कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदुत, नेपालका लागि श्रीलंकाका राजदुत, नेपालका लागि भारतीय दुतावासका उच्च पदाधिकारीहरु वरिष्ठ कलाकारहरु पत्रकारहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यशाला व्यवस्थापन समितिका संयोजक रमेश श्रेष्ठले सार्क एशियन देशहरु राजनीतिक रुपमा निकट रहेको तथा कलाको रुपमा निकट हुन यस्तो कार्यक्रमले सघाउ पु¥याउने धारणा व्यक्त गर्नुभयो ।